जनकपुरधाममा होली मनाउनेमा अन्यौल, मंगलबार मनाउनुपर्नेमा जोड – Jaleshwortoday

जनकपुरधाममा होली मनाउनेमा अन्यौल, मंगलबार मनाउनुपर्नेमा जोड

 ९ चैत्र २०८०, शुक्रबार २२:०२  
Rabindra 2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ९ चैत्र

जनकपुरधाममा आगामी मंगलबार होली पर्व मनाउन सरोकारबालाहरुले आग्रह गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोलीपल्ट नै होली मनाउनुपर्ने बताए ।

मिथिला मध्यमा परिक्रमा आउँदो सोमबार अन्तगृह परिक्रमा गरेर सम्पन्न हुनेछ, उनले भने–त्यसैले जनकपुरधाममा मंगलबार नै होली मनाउनुपर्छ ।

जनकपुरधामसहित आसपासका गाउँहरुमा बुधबार होली मनाइने हल्ला छ । जसले गर्दा यस क्षेत्रमा होली कहिले मनाउनेमा अन्यौल छ । जनकपुरधाम मिल्सएरियास्थित जगतकल्याण आइरन स्टोरका संचालक कैलाश साह पनि होली पर्व मनाउने विषयलाई लिएर अन्यौलमा छन् ।

परिक्रमाको हिसाबले मंगलबार नै जनकपुरधाममा होली मनाउनुपर्ने धारणा उनको छ । तर, मांसमदिरा सेवन गर्नेहरुले होलीलाई एक दिन पर (बुधबार) धकेल्न खोजेको उनको भनाइ छ ।

मांसमदिरा सेवन गर्नको लागि सबै दिन उस्तै रहेको अग्निकुण्ड जनकपुरधामका महन्थ नवलकिशोर शरणको भनाइ छ ।

मासु र मदिरा नै खानुछ भने मंगलबार र बुधबारले के फरक पर्छ उनले प्रश्न गरे ?

पाप नै गर्नुछ भने दिनको के अर्थ । त्यसैले जनकपुरधाममा मंगलबार नै होली मनाउनुपर्छ ।

आइतबार साँझ मिथिला बिहारी र किशोरीजीको डोजा जनकपुरधाम फर्किनेछ, नवलकिशोर शरणले भने–सोमबार बिहान अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमा विधिवत रुपमा सम्पन्न हुन्छ । यसरी मंगलबार मिथिलामा होली पर्व मनाउनुपर्छ । केही व्यक्तिले मिथिलाको होलीलाई बदनाम गर्ने नियतले यसरी आपूm अनुकूलको दिन तय गर्न खोजेको उनले आरोप लगाए ।

पहाडमा आइतबार नै होली मनाउने भएको छ । मधेश प्रदेशको धनुषा र महोत्तरीबाहेकका जिल्लाहरुमा सोमबार नै होली मनाउने तयारी छ । जनकपुरधाममा परिक्रमाको डोला अनुसार होली मनाउने गरिएकोले मंगलबार नै मनाउनुपर्ने छ ।

द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ ।

पौराणिक कथन अनुसार विष्णुभक्त प्रल्हादलाई उनकै नास्तिक पिता हिरण्यकश्यपले जलाउन पठाउँदा बहिनी होलिका तथा द्वापर युगमा कृष्णलाई विषाक्त दूध चुसाएर मार्न गएकी पुतनाको उल्टै नाश भएको खुसियालीमा होली पर्व मनाउन थालिएको हो ।