
जलेश्वरटुडे समाचारदाता
रौतहट, १० चैत्र
जिल्लाको मध्यभागमा रहेको गरुडा तथा शिवनगरमा रहेका दर्जनौं बैंकहरुले आम नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । बैंकप्रति आम नागरिकलाई अझै जिम्मेवार, जवाफदेही र विश्वासिलो बनाउने तथा बैंकबाट प्रदान गरिने विभिन्न सेवाहरुका बारेमा जानकारी दिने उद्देश्यले गरुडामा गरुडा र शिवनगरका सम्पूर्ण बैंकका कर्मचारीहरुले बृहत् र्याली प्रदर्शन गरेका छन् ।
‘बैंकबाट कारोबार गर्नुहोस्, बचत तथा बैंकमा आफनो पैसा सुरक्षित गरी आफनो भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने मूल नाराका साथ इलाका प्रहरी कार्यालय गरुडाको अगाडिबाट निस्केको र्याली गरुडा बजार परिक्रमा गरी मेथुरचौधरी चोकमा गएर कोणसभामा गएर परिणत भएको थियो । र्यालीमा गरुडामा रहेका दर्जनौं बैंक तथा वित्तीय संस्थाका म्यानेजर र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गरुडाका राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, प्रभु बैंक, लक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, माच्छापुच्छ्रे बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंकका प्रबन्ध निर्देशक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकमा ग्राहकले जम्मा गरेको निक्षेपको सुरक्षाको अवस्था, बैंकबाट लिएका ऋण कस्ता क्षेत्र वा व्यापारमा लगानी गर्ने, बैंकबाट लिइएको ऋण कसरी सदुपयोग गर्नेलगायतका विषयमा आम नागरिकलाई जानकारी दिने उद्देश्यका साथ सम्पूर्ण बैंकरहरुको सहभागितामा उक्त र्याली निकालिएको राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अरविन्द झाले जानकारी दिए । बैंकिंङ कारोबार अन्य कारोबार भन्दा भरपर्दो र सुरक्षित रहेकाले बैंकबाट नै कारोबार गर्न झाले सबैलाई आग्रह गरे ।
उनले भने, ‘वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था नै बैंक हो । रुपैयाँ बचत, त्यसको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू बैंकले प्रदान गर्छ । बैंकले बचतकर्ताबाट पैसा लिन्छ अनि दोस्रो व्यक्ति वा संस्थालाई ऋण दिन्छ । त्यसैले बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ,’ उनले भने, ‘बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो, बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिने भएको हुँदा बैंकबाट कारोबार गर्नेतिर सबै लाग्नुपर्छ ।’
देशको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति जनविश्वास बढाउन, निक्षेपकर्ताको हकहितको संरक्षण, सम्बर्द्धन गर्न, गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराइ वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख दायित्व रहेको हुँदा सोहीअनुसार आफूहरुले काम गरिरहेको प्रबन्ध निर्देशक झाले बताए ।
त्यस्तै एनएमबि बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अर्जुण कुमार ठाकुरले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताए । बैंकिंङ क्षेत्रमा हुने गलत एवम् अपराधिक कार्यलाई रोक्न आफूहरुले कुनै कसर बाँकी नराखेको बताउँदै प्रबन्ध निर्देशक ठाकुरले आम नागरिकलाई सरल एवम् सहज रुपमा सेवा उपलब्ध गराउने बैंकको प्रमुख दायित्व रहेकाले सोहीअनुसार सेवा प्रवाह गर्दै आएको बताए ।
त्यस्तै प्रभु बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक रामेश्वर श्रैष्ठले बैंक प्रयोगर्ताहरुलाई आ-आफना अकाउण्टको यूजर आइडी र पासवर्ड कसैलाई नदिन तथा यस्ता संवेदनशील विषयमा सावधानी अपनाउन आग्रह गरे । पछिल्लो समय बैंकिङ ठगीका घटना बढेको भन्दै उनले ग्राहकहरुलाई आफ्नो बैंकिङ विवरण अन्य कसैलाई पनि नदिन र सचेत हुन आग्रह गरे । आफ्नो पासवर्ड, ओटीपी कोड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी लगायतका अन्य कुनै पनि बैंकिङ विवरण अरुसँग शेयर नगर्न उनले आग्रह गरे ।
साथै उनले चिठ्ठा तथा उपहार परेको प्रलोभनमा त्यसको नाममा भन्सार एवम् कर तिर्नुपर्ने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने क्रमसमेत बढेकोले त्यस किसिमका भ्रम तथा प्रलोभनमा नपर्न पनि आग्रह गरे ।