७५ शैय्याको बर्थिंङ सेन्टर उद्घाटन – Jaleshwortoday

७५ शैय्याको बर्थिंङ सेन्टर उद्घाटन

 १६ चैत्र २०८०, शुक्रबार २०:५३  
dean

खुट्टा तान्ने प्रवृत्ति बढ्योःउपप्रधानमन्त्री यादव

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ चैत्र

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मधेशमा खुट्टा तान्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधाममा ७५ शैय्याको बर्थिंङ सेन्टरको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले मधेशमा विकास कार्यमा विरोध गर्नेे गलत प्रवृत्तिको विकास हुँदै गएको बताए ।

मैथिलले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ, उनले भने–मधेशको विकासमा सबैले आ आप्mनो भूमिका निर्वाह गर्नुपर्छ ।

यूएस इन्डो पेसेफिक कमाण्ड एवम् अमेरिकी दूतावासको सहयोगमा निर्मित सो सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले सहयोगका लागि अमेरिकी जनतार सरकार र दूतावासलाई धन्यवाद समेत ज्ञापन गरे ।

नेपाल अमेरिकी र अमेरिका मधेशमैत्रीको प्रतीक यो सेन्टर कोसे ढुंगा हो उनले थपे ।

उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पर्याप्त जनशक्ति र प्रतिबद्धता आवश्यक रहेको बताए ।

“जनताको सेवा गर्न मैथिलहरुले उदाहरण बनेर देखाउनुपर्छ“, यादवले भने–स्वास्थ्य क्षेत्र सुधार्न संघीय सरकार सहयोगको लागि तयार छ ।

अमेरिकी राजदूत डीन थम्सनले अमेरिकी सहयोगमा विराटनगरपछि जनकपुरमा स्थापित यो सेन्टरले जनतालाई मदत पुग्ने विश्वास व्यक्त गरे ।

संघीय मंत्रालयको स्वास्थ्य सचिव डा रोशन पोखरेलले विचारोत्तेजक मन्तव्य दिदै निजी क्लिनिक राम्रो भएर हुंदैन, यो अस्पताल हाम्रो हो, हाम्रो ज्यान हो भन्ठानेर चिकित्साकर्मीहरुले काम गर्नुपर्नेमा जोड दिए ।

“नपुग कसैलाई छैन,लोभ कम गरौं । मेरो मुटुमापनि दुइटा स्टेन छ । अहिले गर्न सकेनौ भने कहिल्यै गर्नसक्दैनौ, यो प्रदेश मेरो पनि प्रदेश भएको नाताले भन्दैछु, सचिव डा पोखरेलले भने ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुश साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुघन सिंह कोइरीले स्वास्थ्य क्षेत्रको विकास गर्न सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । अन्यत्र एक जनामा ३÷४ हजार बजेट आउंँछ तर ६३ लाख आवादी भएको मधेश प्रदेशका लागि प्रति व्यक्ति रु आठसय जतिमात्र बजेट आउंछ । अनि हामीजस्तो गरिब प्रदेश कसरी स्वस्थ्य हुन्छ भनी प्रश्न गरे ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि मधेश प्रदेश सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको मन्त्री कोइरीले प्रतिबद्धता जनाए ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव रायले पनि स्वास्थ्य सेवामा सहयोगको लागि वचनबद्धता व्यक्त गरेका थिए ।

मधेश प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादवले विगतका समस्याहरु गनाउंदै स्वास्थ्यको अवस्था सुधार हुँदै गएको टिप्पणी गरे ।

चिकित्सकहरुले अलिकता आफ्नो लाजधर्म र राजधर्मको पालना गर्नुपर्छ, सचिव डा यादवले भने ।

उक्त अवसरमा अमेरिकी राजदूत डिन आर थमसनले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अमेरिकाले भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संचालनमा आएको बर्थिङ सेन्टरले सेवा प्रवाहमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।