सिरहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो,घटनामा एक विद्यार्थी पक्राउ – Jaleshwortoday

सिरहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो,घटनामा एक विद्यार्थी पक्राउ

 १६ चैत्र २०८०, शुक्रबार २१:३८  
4

गणेश कुमार सिंह
सिरहा, १६ चैत्र

एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।
परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।
प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनको भनाइ छ ।
उनका अनुसार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ । शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ ।