घाटगद्दी गरेको काठमा आगलागी, लाखौको काठ जलेर नष्ट – Jaleshwortoday

घाटगद्दी गरेको काठमा आगलागी, लाखौको काठ जलेर नष्ट

 १९ चैत्र २०८०, सोमबार २२:३०  
2

जलेश्वरटुडे समाचारदाता
रौतहट, १९ चैत्र

रौतहटको वन क्षेत्रमा घाटगद्दी गरेर राखेको काठमा भिषण आगलागी भएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्रमा घाटगद्दी गरेर राखेको काठ दाउरामा सोमबार दिउसो देखी लागेको आगो अझै पनि नियन्त्रणमा लिन सकेको छैन । गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको हो । नेपाल बिधुत प्राधिकरणको हाइटेन्सन निमार्णको लागी वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी तथा वन अधिकृत बिमल कुमार ठाकुरले जानकारी दिएका छन।

आगोले अन्दाजी २५ देखी ३० चट्टा दाउरा नष्ट भएको सुचना अधिकारी ठाकुरले जानकारी दिए । आगो नियन्त्रण लिनको लागी चन्द्रपुर लगायत बिभिन्न स्थानबाट ५ वटा बारुण यन्त्र सो आगलागी क्षेत्रमा ल्याइएको छ । तर पनि आगो नियन्त्रण गर्न नसकेको ठाकुरले बताए । चलिरहेको हावाको कारण आगो नियन्त्रणमा समस्या भएको उनले बताए । सो आगलागी गोठाला वा अन्य बटुवाले लगाएको हुन सक्ने अनुमान गरिएको छ । हिजोआज रौतहटका बिभिन्न गाउघरमा दैनिक जसो आगलागी भइरहेको छ । हावाहुरीको कारण रौतहटमा आगलागीका घटनाहरु दैनिक रुपमा बढिरहेको छ ।