
जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ चैत्र
कमला सिंचाइ पश्चिमी नहर प्रणाली मूल जलउपभोक्ता समितिका नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कमला सिंचाइ व्यवस्थापन कार्यालय अन्तर्गत कमला पश्चिमी नहर प्रणाली मुल नहर जलउपभोक्ता समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र गरिएको हो ।
सोमबार कार्याललयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंचाइ बिभागका महानिर्देशक टिका बरालले यस नहर प्रणालीको दीगो व्यवस्थापन, संचालन र प्रणाली मर्मत सुधार एवं पानी संचालन गरि उपभोक्ता कृषकहरुलाई आवश्यकताको आधारमा सिंचाइ उपलव्ध गराउनुपर्नेमा जोड दिए । नेपाल सरकारको उदेश्य अनुसार ठूला सिंचाइ प्रणालीहरुमा संयूक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोही अनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण गर्ने प्रतिबद्धता उनले जनाए ।
राष्ट्रिय जल उपभोक्ता समितिका महासचिव शम्भु दुलालले कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलब्ध गराउन १४.५ कि.मी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ५५ प्रशाखा नहरले सिंचाइ सेवा दिदै आएको बताए ।
कमला सिंचाइ पश्चिमी नहर प्रणाली मुल जल उपभोक्ता समितिका अध्यक्षमा श्यामबाबु यादव, उपाध्यक्षमा संजिवकुमार यादव गोहिवार, सचिवमा जगदिश यादव, सहसचिवमा रामजोती देवी यादव र कोषाध्यक्षमा बरुण कुमार यादवसहित सदस्यहरुमा पनि सर्वसम्मतले निर्वाचित भएका छन् ।
कमला सिंचाइ व्यवस्थापन कार्यालय प्रमुख बीरेन्द्रकुमार यादवले जल उपभोक्ता समितिमा ५५ प्रशाखा, ४ शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापनमा प्रणालीको दिगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवं व्यवस्थापन गरी उपभोक्ता कृषकहरुलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व बृद्धि गराउने बताए ।
यसले कृषकहरुको आर्थिक, समाजिक अवस्थामा सकारात्मक सुधार हुने, स्वरोजगारको विकास गराई व्यवसायिक कृषि पद्धतीको विकास हुने, प्रणालीको मर्मत सुधार र पानी वितरणमा सहभागीतामूलक सहभागिता परिचालन गराउन सहज हुने विश्वास उनले व्यक्त गरे ।
सो, कार्यक्रम कमला सिंचाइ व्यवस्थापन कार्यालयको आयोजना तथा निर्वाचन समितिका संयोजक कारी यादवको अध्यक्षतामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।