
जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ चैत्र
धनुषाको श्रीशिवशंकर जनता मावि इटहर्वाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
विदेह नगरपालिका–९ स्थित मावि इटहर्वामा सोमबार आयोजित २०७९।०८० को सामाजिक परीक्षणमा विद्यालयका प्रअ कृष्णदेव यादवले प्रगतिविवरण प्रस्तुत गरेका थिए ।
प्लान इन्टरनेशनल नेपाल र आसमान नेपालको सहयोग तथा विदेह नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रअ यादवले चालु शैक्षिक वर्षको मावि तहमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको बताए ।
बालविकासदेखि कक्षा १० सम्म ९३० जना छात्रछात्राहरु विद्यालयमा अध्ययनरत्त रहेका छन् । विद्यालयमा शिक्षकको अभाव रहेको स्वीकार गर्दै प्रअ यादवले उपलब्ध जनशक्तिको अत्यधिक उपयोग गरेर पठनपाठनलाई प्रभावित हुन नदिएको दावी गरे ।
२१ ज्ना शिक्षक रहेको विद्यालयमा हाल १७ जना मात्र रहेका छन् । विद्यार्थीको औषत सिकाई उपलब्धि ६८ प्रतिशत रहेको प्रअ यादवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
विदेह नगरपालिकाका कार्यपालिका सदस्य पूmलोदेवी पासवानको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ यादवले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु शैक्षिक वर्षमा विद्यालयमा १ हजार ८० जना बालबालिका आएको थियो । ती मध्ये ३५ जना बालिकासहित ६५ जना भर्ना नभएको प्रतिवेदनमा उल्लेछ ।
विद्यालयको पूर्वाधार निर्माणमा प्लान इन्टरनेशनल नेपाल र आसमान नेपालले गरेको सहयोगको प्रअ यादवले सराहना गरे । उनले विद्यालयमा अपांगतामैत्री शौचालय निर्माणमा आसमान नेपालले सहयोग गरेको जिकिर गरे ।
आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन प्रअ यादवले सहयोगी संस्थालाई आग्रह गरेका थिए । आसमान नेपालले प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित शिक्षा(एजुकेशन) परियोजना अन्तर्गत विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष व्यवस्थापनमा समेत सहयोग गरेको छ । यसका साथै प्राथमिक उपचार बाकस एक वटा, सुझाव पेटिका १ वटा, ह्याण्ड स्पीकर एक वटा, कार्यालयको लागि टेबुल लगायतको सामग्री विद्यालयलाई सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा विद्यालयमा आम्दानी ८१ लख १७ हजार ९७ रुपैयाँ भएको छ भने खर्च ७९ लाख ५१ हजार चार सय ९७ रुपैयाँ गरेको छ ।
विद्यालयका शिक्षक वन्दना महतोले स्वागत मन्तव्य राखेको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अरुण कुमार मण्डल, आसमान नेपालका कार्यक्रम संयोजक अशोक कापर, प्राविधिक संयोजक घुरन यादव, अनुगमन तथा मूल्यांकन अधिकृत संजिव सिंह लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।