चारकोठे नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण – Jaleshwortoday

चारकोठे नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

 २१ चैत्र २०८०, बुधबार २३:३९  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ चैत्र

धनुषाको विदेह नगरपालिका–९ स्थित श्रीशिवशंकर जनता मावि इटहर्वामा नवनिर्मित चार कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रमका बीच विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले उक्त भवन विद्यालयका प्रअ कृष्णदेव यादवलाई हस्तान्तरण गर्दै उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउन नवनिर्मित भवनको भूमिका महत्वपूर्ण हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे ।

बालबालिकाको सहज सिकाई उपलब्धीको लागि भवनमा कोरिएको तस्वीर र अक्षरहरु सराहनीय रहेको उनले बताए ।

छोटो अवधिमै सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयको हस्तान्तरण गरेकोमा सहयोगी हातहरुमा उनले धन्यवाद समेत ज्ञापन गरे ।

सो अवसरमा विदेह नगरपालिकाका उपप्रमुख आशा झाले पक्की भवनको अभावमा पठनपाठन अवरुद्ध हुँदै आएको विद्यालयमा अव नियमित पठनपाठन हुने विश्वास व्यक्त गरिन् ।

जापान सरकारको सहयोगमा प्लान इन्टरनेशनल र आसमान नेपालले बालविकासदेखि कक्षा ३ सम्म कक्षाकोठा रहेको दुई तल्ले भवन निर्माण गरेको हो । ९३ लाख बढीको लागतमा निर्माण भएको उक्त भवनको चार वटै कोठामा बालबालिकालाई डिजिटल प्रविधिबाट पठनपाठन गराउन ठूलो एलइडी जडान गरिएको छ । बालबालिकाको पठनपाठन सहज बनाउन कक्षाकोठाहरुमा विभिन्न आकर्षक तस्वीर र अक्षरहरु कोरिएको छ ।

विद्यालय भवनसँगै अपांगतामैत्री शौचालय र पुरानो सौचालयको मर्मतमा समेत सहयोग गरेको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहले बताए ।

साहका अनुसार विद्यालयमा भवनको अभाव हुँदा पठनपाठनमा समस्या हुँदै आएको थियो ।

विद्यालयमा पक्की छाना भएको भवनको अभाव थियो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुमराती नदाफले भने–अव यो अभाव पूरा भएको छ ।

वर्षा याममा कक्षाकोठा चुहिदा बालबालिकाको पठनपाठन अवरोध हुने गरेको स्मरण गर्दै अध्यक्ष नदाफले अव यो झन्झटबाट मुक्त भएको बताए ।

विद्यालयमा पक्की भवन निर्माण हुँदा पढ्न आउने बालबालिकाको संख्या वृद्धि हुने दावी नदाफले गरे ।

हाल विद्यालयमा ९ सय ३० जना छात्रछात्रा रहेको विद्यालयको नयाँ भवन निर्माण भएपछि आगामी शैक्षिक वर्षदेखि विद्यार्थीको संख्या वृद्धि हुने विश्वास प्रअ कृष्णदेव यादवले व्यक्त गरे ।

विद्यालयमा शैक्षिक वातावरण कायम गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि भवन निर्माण गरिएको प्लान इन्टरनेशनल नेपालका पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक रबिशंकर पण्डितले बताए ।

जापान सरकारको सहयोगमा करिब सात महिनाभित्र चार कोठे भवन, शौचालय, खानेपानी, हात धुने स्थलसहित पुरानो शौचालय मर्मत कार्य पूरा गरेर विद्यालयलाई हस्तान्तरण गरिएको पण्डितले बताए ।

मावि इटहर्वाका जग्गादाता महन्थ शिवनारायण पुरीको अध्यक्षतामा भएको विद्यालय भवन हस्तान्तरण कार्यक्रममा वक्ताहरुले गुणस्तरीय पठनपाठनमा जोड दिए ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको शिक्षा परियोजना अन्तर्गत भवनसंगै सरसफाई लगायतको सामग्री समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी, आसमान नेपालका कार्यक्रम प्रबन्धक दिलिप यादव, परियोजना संयोजक अशोक कापरी लगायत शिक्षक, बालबालिका, अभिभावकहरुको उपस्थिति रहेको थियो ।