धनुषामा चार बर्ष पछि दुहवीमा लाग्यो हाट, स्थानीय खुशी – Jaleshwortoday

धनुषामा चार बर्ष पछि दुहवीमा लाग्यो हाट, स्थानीय खुशी

 ७ बैशाख २०८१, शुक्रबार ०८:४२  
1

गणेश कुमार सिंह
धनुषा, ६ बैशाख

धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् । गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको साप्ताहिक हाटबजार बन्द भएको थियो । त्यसयता किसानलाई आफ्ना उत्पादन बेच्नका लागि करिब पाँच किलोमिटरको दुरीमा रहेको तौनकौरिया चोकस्थित बजारसम्म पुग्न बाध्य हुनुपरेको थियो ।

दुहबी र गोबराहीको बीच भागमा पर्ने बजारमा नयाँ वर्षका दिनबाट हाट लाग्न थालेपछि आफ्ना खेतबारीमा उत्पादित बालीनाली बेच्न साताका दुईपटक पर्तिरका गाउँसम्म धाउनपर्ने किसानको विवशतामात्र सकिएको छैन, स्थानीयले गाउँमै ताजा तरकारी किन्न पाउने सुविस्ता पाएका छन् । गाउँको विद्यालयसँगै जोडिए‌को हाट सञ्चालनमा आउँदा उब्जनी बेच्न एक गाउँबाट अर्को गाउँसम्म सामग्री ओसार पसार गर्न मुश्किल हुने किसानको सकसमा विराम लागेको छ । तिनीहरूले गाउँकै हाटमा आफ्ना उत्पादन उचित मूल्यमा बेच्न पाएका छन् ।

दुहवीको कृषि हाटबजार आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्नेछ । गाउँमै कृषि हाटबजार सञ्चालन भएपछि यहाँका बासिन्दाका लागि दीपावली नै गर्ने अवसर निम्त्याएको विदेह नगरपालिकाका कार्यपालिका सदस्य शत्रुधन रायले बताए ।

उनले चार गाउँका बीचमा रहेको सो हाटबजारबाट तरकारी उब्जाउने किसानसँगै आम जनतालाई सुविधा भएको उल्लेख गरे। उनले भने, ‘चार वर्षअघि हाटबजार लाग्न छाडेपछि जनतालाई निकै अप्ठ्यारो परेको थियो । त्यसैले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूका पहलमा कार्यपालिकाको निर्णयबाटै हामीले हाटबजार सञ्चालनमा ल्याएका हौं ।’

स्थानीय हाटबजारमा कृषि उत्पादन बेच्न महिलाको संख्या उल्लेख्य हुन्छ। टाढासम्म पुगेर सामान बेच्दा पुरुषको तुलनामा महिलालाई बढी कष्ट बेहोर्नुपर्ने स्थिति

थियो। तरकारी व्यावसायी एक महिलाका अनुसार गाउँमा हाट सुरु भएपछि छरिवरि भएर लाग्ने बजार एक ठाउँमा आएको छ। उनले भनिन, ‘तरकारी बेच्नकै लागि जेनतेन तीनकौरिया चोक पुम्नुपर्थ्यो । हाटबजार लाग्न थालेपछि गाउँको एक ठाउँमै सबैथोक बेच्न र किन्न पाइने भएको छ।’ स्थानीयका अनुसार विसं २०७६ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो। उक्त हटियामा स्थानीय उत्पादन आलु, पयाज, काउली, परवल, कदिमा, तेजपत्ता, स्याउ, सुन्तलालगायत तरकारी तथा फलफूल खरिदबिक्री गर्न मानिस आउने गर्दथे।

छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए। ‘त्यति ठूलो हाटबजार विभिन्न कारणले बन्द हुनपुग्यो, जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटकपटक

हाटबजार सञ्बालन गर्न पहल गरेको थिएँ तर सफलता भने अहिले प्राप्त भएको छ,’ नगरप्रमुख बेचन दासले भने, ‘स्थानीय किसानको उत्पादन खपत अब यहाँ हुनेछ। व्यावसायिक रूपमा तरकारी तथा फलफूल उब्जाउन साना किसानलाई यो हाटबजारले प्रोत्साहन दिनेछ।’

गाउँवाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास नगरप्रमुख दासको छ।

हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापारवृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । लोप भइसकेको हाटबजार पुनर्सञ्चालनले किसान र उपभोक्ता दुवैलाई फाइदा हुने

नगर उपप्रमुख आशादेवी झाले बताइन् । हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै उनले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्ने हाटबजारले निकै सघाउ पुऱ्याएको जानकारी दिइन् ।

चार वर्षभन्दा बढी समयपछि दुहबीगोबराही चोकमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिक रूपले सबल र आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । गाउँमै हाटबजार लाग्ने भएपछि उनीहरू थप मिहिनेती र उद्यमशील बन्नेछन् ।