जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ बैशाख
धनुषामा विद्यार्थी भर्ना अभियानलाई तीव्र पारिएको छ । सरोकारबाला संघसंस्थाको सक्रियतामा जिल्लाको सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान–२०८१ संचालन गरिएको हो ।
धनुषाको श्री राष्ट्रिय आधारभूत विद्यालय सर्सामा बुधबार बिहान विद्यार्थी भर्ना अभियान कार्यक्रम गरिएको हो ।
पिपल प्रोमोट सेन्टर धनुषाको सहकार्यमा विद्यालयले विद्यार्थी भर्ना अभियान अन्तर्गत र्याली गरेको हो ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो ।
विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरेको पिपल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलले बताए ।
विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ मूल नाराका साथ विद्यार्थीलाई भर्ना गराउने अभियानलाई तीव्रता दिएको अध्यक्ष मण्डलले बताए ।
पूर्वी धनुषाको सर्सा गाउँमा स्थापित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत्त रहेका छन् । दलितबस्ती नजिकै विद्यालय रहेपनि बालबालिका विद्यालय आउन नचाहेकालाई भर्ना गराउने आपूmहरुको लक्ष्य रहेको उनले बताए ।
विगतको तुलनामा सामुदायिक विद्यालयतर्फ आकर्षण बढिरहेकाले भर्ना अभियानलाई सरोकारवालाको अगुवाइमा तीव्रता दिनुपर्ने उनको धारणा छ ।
राष्ट्रिय आधारभूत विद्यालय सर्साका प्रधानाध्यापक नरेश यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बबिता यादव लगायत समितिका सदस्य, शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरुको सहभागितामा गाउँहरुमा र्याली गरिएको थियो ।
सो असवरमा पिपल प्रोमोट सेन्टरका जयवीर साह, सोनु मण्डल, सुदिप मण्डल लगायतको उपस्थिति रहेको थियो ।