मधेशमा बालविवाह विरुद्धको दिवस मनाइयो – Jaleshwortoday

मधेशमा बालविवाह विरुद्धको दिवस मनाइयो

 १७ बैशाख २०८१, सोमबार २३:२५  
qq

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ बैशाख

छोराछोरी बराबरी, बीस पारी विहेवारी भन्ने नाराका साथ मधेश प्रदेशमा सोमबार बालविवाह विरुद्धको दिवस मनाइएको छ ।

मधेश किशोरकिशोरी सम्मेलनको आयोजना गरेर बालविवाह विरुद्धको दिवस मनाइएको हो ।

सम्मेलनको उद्घाटन गर्दै खेलकूद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले सम्मेलनको उद्घाटन गर्दै बालविवाह विरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाउन प्रदेश सरकार लागिपरेको बताइन् ।

मधेश प्रदेश किशोरी समूहकी अध्यक्ष साहिदा खातुनको अध्यक्षतामा भएको सम्मेलनमा मन्त्री साहले बालविवाह समाजको लागि अभिसाप रहेकाले यसको विरुद्धमा प्रभारीकारी रुपमा अभियान संचालन गर्नुपर्ने बताइन् ।

प्रदेश सरकारले पनि सन् २०३० सम्म बालविवाह मुक्त प्रदेश घोषणा गर्ने नीति लिएर अघि बढेको बताउदै मन्त्री साहले यसमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरिन् ।

शिक्षा अभावमा मधेशमा बालविवाहको घटना बढ्दो रहेपनि अघिल्लो समय बालविवाहको घटनामा कमी आएको मन्त्री साहले दावी गरिन् ।

प्रदेश सरकारले बैशाख १७ मा सामाजिक अभिषापको रुपमा रहेका बालविवाह विरुद्धको दिवस मनाउन थालेको छ ।

२०८० बैशाख १७ मा जनकपुरमा सम्पन्न बालिका सम्मेलनमा मुख्यमन्त्री सरोजकुमार यादवले यो दिन प्रत्येक वर्ष बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गरेका थिए ।

सोही अनुरुप खेलकूद तथा समाज कल्याण मन्त्रालयको समन्वय तथा दातृ निकायको सहयोगमा स्थानीय संघसंस्थाहरुले संयुक्त रुपमा बालविवाह विरुद्धको दिवस मनाएको हो ।

सो अवसरमा महिला, बालबालिका तथा समाजिक न्याय समितिका सभापति रुपा यादवले मधेश प्रदेशमा समाजिक विकृतिको रुपमा रहेको बालविवाह अन्त्य गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । कुनै एक निकायले गर्दैमा यो विकृतको अन्त्य हुँदैन, उनले भनिन्–त्यसैले यसमा सबैको सहयोग अपरिहार्य छ ।

बालविवाहले महिलालाई शारिरिक र मांसिक रुपमा कमजोर बनाउने गरेको जिकिर गर्दै यादवले यसप्रति सचेत हुन किशोरीहरुमा आग्रह गरिन् ।

गत वर्ष बालिका सम्मेलनमा भएको निर्णयको आत्मसाथ गर्दै यस वर्ष बालविवाह विरुद्धको दिवसको अवसर पारेर मधेश किशोरकिशोरी सम्मेलन आयोजना गरिएको खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले बताइन् ।

उनले दोश्रो बालिका सम्मेलनका उपलब्धी र प्रगतिबारे कार्यपत्र प्रस्तुत गर्दै बालविवाहको जोखिममा बढी महिला रहेको उल्लेख गरिन् ।

दाइजो प्रथा, समाजिक बन्धनको शिकार किशोरीहरु हुनुपरेकोले यसतर्पm सचेत हुन जरुरी रहेको उनले थपिन् ।

सम्मेलनमा सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरीलाई सम्मान गरिएको थियो । मधेश प्रदेशमा बालविवाह मुक्त हुने सुरुङा पहिलो नगरपालिका हो ।

बालविवाहको अन्त्य र किशोर किशोरीमा लगानी विषयक परिसम्वादमा किशोर किशोरी, बालक्लवका पदाधिकारीहरुले समेत भाग लिएका थिए । उनीहरुले तीनै तहको सरकारले बालविवाह विरुद्ध ल्याएको अभियानहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

खेलकूद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव चुडामणि फुयालले स्वागत मन्तव्य राखेको सम्मेलनमा दातृ निकाय युनिसेफ, केयर नेपाल, सेभ द चिल्डे«न, सीबीएम, प्लान इन्टरनेशनल नेपाल, आसमान नेपाल, लाइफ नेपाल लगायतका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले लिएको नीतिलाई सफल पार्न हातेमालो गरेर बढ्न तयार रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।