टोल टोलमा बोरिङ जडान गरेर पानीको समस्या समाधान गरिने – Jaleshwortoday

टोल टोलमा बोरिङ जडान गरेर पानीको समस्या समाधान गरिने

 २० बैशाख २०८१, बिहीबार ००:४०  
5

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख

लामो समयदेखि वर्षा नहुँदा राजधानी जनकपुरधामसहित मधेश प्रदेशमा पानीको हाहाकार भएको छ ।

पानीको मुहान सुक्दा जनकपुरधाममै खानेपानीको हाहाकार भएको हो ।

चापाकल सुक्दा छिमेकीको आंगनबाट पिउनको लागि पानी ल्याउनुपरेको जनकपुरधाम–१ की सुशिला साहले भनिन् ।

केही दिन अघि मात्र पानी दिन छाडेपछि समस्या भएको छ, उनले भनिन्–छिमेकीबाट पानी ल्याएर कति दिनसम्म थेग्ने हो ? खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने माग उनले गरिन् ।

बैशाख महिनाको तेश्रो सातासम्म आइपुग्दा जनकपुरधामसहित तराई मधेशको तापक्रम चढेर ४० पार पुगेको हो । यसले आगामी दिनमा जनकपुरधामसहित मधेशबासीले थप गर्मीको सामना गर्नुपर्ने संकेत गरेको हो ।

बिहानैदेखि चलेको तातो हावाले गर्मी बढ्दै गएपनि वर्षाको सम्भावना घट्दै गएको वातावरण विद्हरु बताउँछन् ।

यस्तो मौसममा पानी पर्ने सम्भावना कम रहेको उनीहरुको दावी छ ।

जलवायु परिवर्तनको प्रभाव नेपालसहित विश्वमा परेको बेला मधेशमा भने चुरे विनाशले अत्यधिक प्रभाव देखिएको सामुदायिक विकास तथा पैरबी मंच नेपालका अध्यक्ष समेत रहेका वातावरण विद् नागदेव यादवले बताए ।

यादवका अनुसार केही वर्ष अघिसम्म लामो समयसम्म वर्षा हुँदा खोला, नदीहरुमा पानी पूर्नभरण हुन्थ्यो, अहिले थोरै समय पानी पर्दा खोला, नदीबाट पानी बगेर अन्तै जाँदा पूर्नभरण हुन सकेको छैन् ।

मधेशको लाइफलाइन समेत रहेको चुरेमा रहेको खोला, खहरे खोलाहरुमा वर्षा याममा पानी स्टोर गरेर पुर्नभरण तथा पानीको सतह रिचार्ज गर्नुपर्ने उनको तर्क छ ।

मधेशमा खोला र खहरे खोलाको पानी स्टोर गरेर पुर्नभरणको विकल्प नरहेकोले यसतर्पm सरकारी निकायको ध्यान केन्द्रित हुनुपर्ने उनले थपे ।

यता, मधेशमा पानीको समस्या बढ्दै गएपछि प्रदेश सरकार यसको समाधान खोज्नमा लागेको छ ।

प्रदेश सरकारले पानीको चरम अभाव रहेको बस्तीहरुमा खानेपानीको लागि बोरिङ जडान गर्ने निर्णय गरेको उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले बताए ।

मन्त्री कलवारका अनुसार खानेपानीको समस्या रहेको टोल र वडाहरुमा सरकारले बोरिङ जडान गरेर तत्काल खानेपानीको समस्या समाधान गर्ने छ ।

जमिनमुनि तीन तहमा पानी रहेकाले सतह केही तल गएपनि पानी रहेको छ, मन्त्री कलवारले भने–पानीको सतह रहेकाले सरकारले यसलाई उपयोग गरेर पानीको समस्या समाधान गर्छ ।

प्रदेश सरकारले गत वर्षदेखि नै खानेपानीको हाहाकार भएको मधेशमा हालसम्म ठोस योजना बनाउन नसकेको वातावरण विद् यादवले गुनासो पोखे । आज पानीको अभाव भएको होइन, उनले भने–गत वर्षदेखि नै मधेशमा खानेपानीको समस्या देखिएको हो । तर, तीन तहमध्ये कुनै सरकारले यसतर्पm ठोस कदम चालेको देखिदैन् । चुरे विनाशले मधेश मरुभुमि बन्न लागेको बताइएपनि यसको संरक्षणतर्पm हालसम्म कुनै सरकारले ठोस कदम चालेको देखिदैन् उनले भने ।