तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न – Jaleshwortoday

तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

 २५ बैशाख २०८१, मंगलवार ००:०७  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम,२४ बैशाख

शिक्षकहरुका लागि तह–१, २ र ३ को संश्लेषित पाठ्यक्रम सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपाल तथा आसमान नेपालको संयुक्त साझेदारीमा सञ्चालित शिक्षा र बालबिवाह न्यूनीकरण परियोजना अन्तर्गत धनुषाका पाँच वटा पालिकाका शिक्षक, शिक्षा संयोजकहरु÷शिक्षा अधिकृतहरु र द्रूत सिकाइ कक्षाका सहजकर्ताहरुलाई सो सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

धनुषाका ५ वटा पालिकाहरु जनकनन्दनी गाउँपालिका, बिदेह नगरपालिका, कमला, शहिदनगर र सबैला नगरपालिकाको समन्वयमा सो तालिम सञ्चालन भएको थियो ।

तालिममा जनकनन्दिनी गाउँपालिका र बिदेह नगरपालिकाका २० वटा सामुदायिक विद्यालयका शिक्षकहरु, शिक्षा संयोजकहरु÷शिक्षा अधिकृतहरु र द्रूत सिकाइ कक्षाका सहजकर्ताहरु गरी ३४ जना सहभागी थिए ।

तालिमका सहजकर्ता शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरका निर्देशक निलकण्ठ ढकाल रहेका थिए । तालिमको उद्देश्य विद्यालयको सेवा क्षेत्र भित्र विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई भर्ना गर्नु थियो ।

विद्यालय छाडेका बालबालिकाहरु (८ देखि १४ वर्ष उमेर समूह) लाई शिक्षाको मूलप्रवाहमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्था गरेको अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको स्वरुपबारे ढकालले सहभागिहरुलाई जानकारी गराएर सोको लागि तयारी गराएको आसमान नेपालका घुरन यादवले बताए ।

यादवका अनुसार तालिम गएको बैशाख २२ देखि जनकपुरधाममा संचालन भएको थियो ।