जनकपुरधाममा घरभाडा लगाउने घरधनीहरुलाई अनुशासित तथा व्यवस्थित गर्न आवश्यक – Jaleshwortoday

जनकपुरधाममा घरभाडा लगाउने घरधनीहरुलाई अनुशासित तथा व्यवस्थित गर्न आवश्यक

 २५ बैशाख २०८१, मंगलवार ००:२३  
4

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम,२४ बैशाख

मधेस प्रदेशको राजधानी जनकपुरधाममा घर भाडा लगाउने घरधनीहरुलाई अनुशासित तथा व्यवस्थित गर्न आवश्यक रहेको देखिन्छ ।
व्यवसायिक प्रयोजनदेखि परिवारिक बास बस्ने प्रयोजनको लागि लिइने घर तथा सट्टरहरुको भाडा अनियन्त्रित रहेको देखिन्छ । यसमा उपमहानगरको अहिलेसम्म ध्यान गएको देखिदैन भने आम जनता समेत दुःख भोग्न बाध्य रहेको देखिन्छ ।युवा व्यवसायी अर्जुन दासको अनुसार जनकपुरधामको भानुचौकमा तीस हजारदेखि चालिस हजारमा एउटा मात्र सट्टर भाडा पाइने गरिन्थ्यो तर अहिले त्यहाँ दर्जनौं सट्टरहरु खालि अवस्थामा छन् । किनभने अहिले अर्थतन्त्र खस्केर सामान बिक्री नभएर आम्दानी खुम्चिएको छ भने घरधनीहरुलाई समयमै भाडा तिर्न गाह्रो भएको छ । यसको उपाय सम्बन्धित सरोकारबालाहरुले समयमै खोज्न तथा समाधान गर्न जरुरी रहेको छ भने सट्टरको भाडा प्रणाली तथा दर रेट समेतमा सहुलियत गर्न गराउन आवश्यक रहको छ । जनकपुरधामको उद्योग वाणिज्य संघ समेत यसको व्यवस्थापन गर्नमा असफल रहेको देखिएको छ ।
त्यसैगरी परिवारिक दृष्टिकोणले घर भाडा लगाउने घर धनीहरु समेत यहाँ फरक—फरक हिसाबले घर भाडा लिने गरेको बुझिएको छ । एउटा कोठाको कहि ३ हजार त कहि ५ हजार त कहि ७ हजार समेत लिने गरेको पाइएको छ । यसको नियमन तथा नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरले न्युनतम भाडा दर किटान गर्न आवश्यक रहेको देखिन्छ । अहिले ई—रिक्साको भाडा दर सार्वजनिक रुपमा निर्धारण भए पनि यहाँका घरहरुको भाडाको दर निश्चित हुन सकेको छैन । यति मात्र होइन घर भाडा लगाउदा लिखित रुपमा सहमतिपत्रमा दुबै पक्षको मन्जुरीनामा लिने दिने चलन नरहेको हुँदा कुनै पनि घरधनीले कुनै पनि बखत भाडाबालालाई तुरुन्त घर खाली गर्ने धम्की दिएको हुन्छ । जबकी घरको भाडा समयमै लिए पनि घर धनीले दिनु पर्ने अन्य सुविधामा आनाकानी गर्ने तथा धाकधम्की समेत दिने गरेको बुझिएको छ । यसै क्रममा जनकपुरधाम उपमहानगर वडा नं.— ४ को अजित चौधरी घर धनीले आफ्ना भाडादारहरुलाई यसै किसिमले दुख तथा धाकधम्की दिने गरेको तथ्य बाहिरिएको छ । चौधरी जस्ता राजधानीमा कैयौ घरधनीहरु छन् जसले विभिन्न बाहानामा सर्वसाधारण विद्यार्थीहरु तथा आमजनताहरुलाई दुख दिने गरेको बुझिएको छ । घर भाडा बढाउने निहुँमा वर्षे पिच्छे भाडादारलाई फेर्ने तथा नयाँ भाडादारलाई घर भाडा बढाएर दिने परिपाटी फ्रष्टाएको देखिन्छ । यसकारण परिवारिक भाडाको घरको लागि समेत लिखित रुपमा निश्चित समयको लागि घर भाडा लिनेदिने परिपाटीको विकास गर्न गराउन आवश्यक रहेको देखिन्छ । यसबाट कुनै पनि पक्ष समस्या नहुने देखिन्छ । साथै घर भाडादार परिवर्तन गर्नु पर्ने आवश्यकता देखिए कानुनी रुपमा ३ देखि ६ महिनासम्मको समय सिमा दिएर अनुशासित तथा व्यवहारिक रुपमा घर छोडने प्रक्रियाको विकास गर्न गराउन आवश्यक रहेको देखिन्छ । घरभाडा लगाउने घरधनीहरुको न्युनतम मापदण्ड समेत उपमहानगरले तोक्न आवश्यक रहेको देखिन्छ । किनभने कतिपय घरमा एक सय फिटको ह्याण्ड पाइप छ भने चर्पी तथा नुहाउने घरको अवस्था खराब समेत पाइएको छ । भौतिक आधारभूत सुविधा नभएका घरधनीहरुलाई घर भाडा लगाउन बन्देज गर्न आवश्यक रहेको देखिन्छ ।

उपमहानगरले घरभाडा कर समयमै तिरिरहेको छ वा छैन त्यसको समेत अनुगमन तथा जाँचपडताल गरी समयमै तिर्न तिराउन आवश्यक रहेको देखिन्छ । उपमहानगरले नगर पिताको हैसियतले घरभाडामा बस्ने भाडादारहरुको समस्या समेत सुन्न तथा बुझ्न पालिकाको कर्मचारीहरु पठाएर अनुगमन गर्न गराउन आवश्यक रहेको देखिन्छ । घर भाडा लगाउने घर धनीहरुले बिजुली तथा खाने पानीको महसुलमा प्रति युनिट १५ देखि २० सम्म लिने गरेको तथ्य बाहिरिएको छ । अधिक मुल्य बृद्धिको समेत जाँचपडताल सम्बन्धीत निकायबाट हुनु पर्ने आमजनताको आवाज रहेको देखिन्छ ।

साथै कुनै भाडादारले गल्ती गरेको भए निजलाई पनि कानुनी दायरामा ल्याउन आवश्यक रहेको देखिन्छ ।