जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ बैशाख
धनुषाको विदेह र जनकनन्दनी पालिकामा जारी छात्रा फुटवल प्रतियोगिता–२०८१ अन्तर्गत मंगलबार भएको खेलमा खजुरी चन्हा विजयी भएको छ भने विदेह नगरपालिकामा भएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ । पहिलो सेमिफाइनल अव बुधबार हुने भएको छ ।
जनकनन्दनी गाउँपालिकाको केएसएच मावि खजुरीको मैदानमा भएको खेलमा खजुरी चन्हाले मावि ठाढीलाई पराजित गरेको हो ।
प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको दोश्रो खेलमा खजुरी चन्हाले सजिलै मावि ठाढीलाई पराजित गरेको छ ।
खेलको पहिलो हाफमा दुवै टोलीले गरेको प्रयास असफल भएको थियो । खेलको दोश्रो हाफमा खजुरी चन्हाकी गुडिया कुमारी दासले पेनाल्टीको फाइदा उठाउँदै शानदार गोल गरेकी रेफ्रि सुनिल पासवानले बताए ।
पासवानका अनुसार खेलको पहिलो हाफ ०–० को स्कोरमा सकिदा दोश्रो हाफमा खेलाडीहरुले खेलमा सुधार ल्याउँदै एकअर्का विरुद्ध आक्रमक भएका थिए ।
दोश्रो हाफमा डीबक्स हैण्ड हुँदा रेफ्रिले खजुरी चन्हालाई पेनाल्टी दिएको थियो । पेनाल्टीको फाइदा उठाउँदै खजुरी चन्हाले १–० को अग्रता कायम गर्न सफल भयो । मावि ठाढीका खेलाडीहरुले खेल समाप्ती हुँदासम्म बराबरी गोल फर्काउन सकेन् ।
शिक्षा परियोजना अन्तर्गत जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिकामा आयोजना भइरहेको छात्रा फुटबल प्रतियोगिता अन्तर्गत गिद्धाबेलापट्टी खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
मावि दुहवी गोबराही र मावि बफैबीचको खेल वर्षाका कारण बुधबार बिहान ७ः३० बजेदेखि मावि गिद्धाबेलापट्टी खेल मैदानमा हुने रेफ्रि संजय कुमार मण्डलले बताए ।
मण्डलका अनुसार मावि दुहबी गोबराही र मावि बफैबीचको खेल बुधबार बिहान पुनः खेलिने भएको छ ।
मंगलबार दिउँसो भएको खेलमा निर्धारित समयमा निर्धारित समयमा कुनै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा तानिएको थियो ।
अतिरिक्त समयमा पनि दुवै टोलीका खेलाडीहरु गोल गर्न सफल हुन नसकेपछि पेनाल्टी शुटआउटमा खेलको नतिजा निकाल्ने निर्णय गरिरहँदा एक्कासी वर्षाले अवरुद्ध भएको थियो । वर्षाले खेल मैदानमा पानी जम्दा दुवै टोलीका व्यवस्थापकहरुले खेल बुधबार बिहान पुनः खेल्न सहमत भएका छन् ।
मावि दुहबी गोबराही उद्घाटन खेलमा गिद्धाबेलापट्टीलाई पराजित गरेको थियो भने बफैले शिवशंकर मावि इटहर्वालाई पराजित गरेर सेमिफाइनलको भेट पक्का गरेको थियो ।