स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न – Jaleshwortoday

स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

 ३१ बैशाख २०८१, सोमबार २३:२३  
2

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३१ बैशाख

धनुषाको जनकनन्दनी गाउँपालिकामा खानेपानी तथा सरसफाइ एवं महिनावारी स्वच्छता व्यवस्थापनका लागि लैंगिक रुपान्तरण र समावेशी व्यवस्थापन सम्बन्धी चार दिने तालिम सोमबार सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा आसमान नेपालले सञ्चालन गरेको शिक्षा र बालबिवाह न्यूनीकरण परियोजनाहरु अन्तर्गत जनकनन्दनी गाउँपालिका वडा नं.–४ स्थित श्री के.एस्.एच्.एस्.बी.माध्यमिक खजुरी महुवामा आयोजना गरिएको हो ।

जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सञ्चालित तालिममा ११ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु र जेण्डर फोकल शिक्षक गरी २२ जना सहभागी थिए ।

श्री माध्यमिक विद्यालय ठाढी, बिदेह नगरपालिका–१ का शिक्षक ममता कुमारी शर्मा र श्री शंकर जनता माध्यमिक विद्यालय दुहबी गोबराही, बिदेह–२ का प्रअ धनिकलाल ठाकुर लगायतले तालिममा सहजिकरण गरेको आसमान नेपालका फिल्ड सुपरभाइजर पृथ्वी मुखियाले बताए ।

विद्यालयको खानेपानी तथा सरसफाइको स्थितिमा सुधार ल्याएर विद्यालयहरुलाई ३ तारे विद्यालयको रुपमा विकसित गराउने उद्येश्यले तालिम आयोजना गरिएको आसमान नेपालका प्राविधिक संयोजक घुरन यादवले बताए ।