रौतहटको लागि आएको एम्बुलेन्स जनकपुरमा चरम दुरुपयोग गर्दै गुप्ता – Jaleshwortoday

रौतहटको लागि आएको एम्बुलेन्स जनकपुरमा चरम दुरुपयोग गर्दै गुप्ता

 ३१ बैशाख २०८१, सोमबार २३:३२  
4

जलेश्वरटुडे समाचारदाता
रौतहट, ३१ बैशाख

भारतीय दूतावासबाट उपहार स्वरूप पाएका एम्बुलेन्सलाई विगत ३ वर्ष देखि अन्यत्र राखेर दुरुपयोग गर्दै आएपनि सम्बद्ध निकाय मूकदर्शक बनी बसेका छन् ।भारतको गणतन्त्र दिवसको अवसरमा उपहार स्वरूप एम्बुलेन्स पाउनका लागि रौतहटको तत्कालीन जोकहा गाविस वडा नम्बर ९ तथा हाल इशानाथ नगरपालिकामा शान्ति युवा परिवार नामको संस्थालाई तिन वर्ष अघि एम्बुलेन्स प्रदान गरिएका थिए ।जोकहा गाउँका जनताहरूको लागि पाएका एम्बुलेन्सलाई संस्थाका पदाधिकारीले पदीय दायित्वको चरम दुरुपयोग गर्दै जोकहा नल्याई जनकपुरमा राखी आर्थिक अनियमितता गर्दै आएपनि सम्बद्ध निकाय कानमा तेल हालेर चिर निद्रामा सुतिरहेको आरोप एम्बुलेन्स चालक महासङ्घले लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारको नाममा ११४१ नम्बरमा दर्ता भएका उक्त संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद गुप्ता रहेको अभिलेखमा देखिन्छ । सीप विकास केन्द्र धनुषाको पिडारी चोक नमुना बस्तीमा कार्यरत रहेका गुप्ताले भारत सरकारबाट संस्थालाई उपहार स्वरूप दिइएको ना.५ च १४५३ नम्बरका एम्बुलेन्सलाई सिधै जनकपुरमा राखेर आर्थिक अनियमितता गर्दै आइरहेको छ ।

यस विषयमा पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित रूपमा उजुरी दिएर जहाँका लागि आएको एम्बुलेन्स हो त्यही जिल्लामा पठाइदिनुपर्ने भन्दा समेत कुनै निकायबाट हाल सम्म पहल नभएपछि बाध्य भएर मध्यान्ह दैनिक मार्फत सम्बन्धित निकाय समक्ष पुर्‍याउन खोजेको जनकपुर एम्बुलेन्स चालक महासङ्घका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले भने । शान्ति युवा परिवार जोकहालाई भारतीय दूतावासबाट प्राप्त भएको ना.५ च. १४५३ नम्बरको एम्बुलेन्स जोकहाको जनताहरूले अनुहार समेत नहेरेको यहाँका जनताहरूको लागि पाएका एम्बुलेन्स जनकपुरमा राखिनु गैरकानुनी भएन, संस्थाको नाममा पाएको एम्बुलेन्स व्यक्तिगत रूपमा प्रयोग गर्न पाउँछ की पाउँदैन् अहिले गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

२०७९ साल फागुन महिना १५ गते २६ वटा संस्थाहरूले सामूहिक रूपमा बैठक गरेर व्यक्तिगत नाफा कमाउने एवं दलाली गर्ने उद्देश्यबाट बिरामीहरूलाई सुरक्षित रूपमा अस्पताल सम्म पुर्‍याउनका लागि पाएका एम्बुलेन्सहरूलाई जुन स्थानको लागि पाएको हो त्यही स्थानमा पठाउन दुई पटक जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय भयो तर कार्यान्वयनमा आउन नसकेको केन्द्रीय अध्यक्ष ठाकुरले गुनासो गरे ।एम्बुलेन्सहरूको बारेमा पत्ता लगाउँदै जाँदा रौतहटको पनि एउटा एम्बुलेन्स भेटिएको हुँदा जोकहाको जनताहरू समक्ष पुर्‍याउन आफू सहितका विभिन्न संघसंगठनहरु सक्रिय रहेको बताए । उक्त एम्बुलेन्स जनकपुरधाम स्थित थापा चोकमा एक नीति कम्पाउण्डमा पार्किङ गरिएको अवस्थामा फेला परेको उनले बताए ।

यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संस्थाको नाममा आएका एम्बुलेन्सलाई व्यक्तिगत रूपमा चलाउनै पाउँदैनन्, जुन स्थानको लागि आएको त्यही स्थानमा राखिनुपर्ने हो तर के कति कारणबाट यहाँको एम्बुलेन्स जनकपुरमा राखेर चलाइरहेको विषयमा आफूलाई भर्खरै जानकारी पाएको बताए । यहाँको एम्बुलेन्सलाई हामी यथाशीघ्र झिकाई आवश्यक अनुसन्धान गर्ने तथा यसका बिचौलियालाई कानुन सम्मत कारबाही गरिने बताए ।