
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ पुस
एउटा कार्यक्रम विच असक्त व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको रतौली युवा क्लवले वुधबार आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका ९५ जना असक्त व्यक्तिहरुलाई ति सामग्री वितरण गरेपछि धेरैको मुखमा मुस्कान देखिएको थियो । क्लवका अधिकृत पुजनारायण साहले पहिलो चरणमा आफुहरुले ९५ जना विभिन्न क्षेत्रका असक्तहरुलाई सहायक सामग्री वितरण गरेको बताउनुहुदै यसले उनीहरुको जीवनमा केही सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्रले ति सामग्रीहरु वितरण गर्नुहुदै नगरपालिका भित्र रहेका अशक्त व्यक्तिहरुलाई दिएको सहायक सामग्री प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले सेभ द चिल्डूेन, युकेऐड तथा जलेश्वर नगरपालिकाको संयुक्त सहयोगबाट कार्यक्रम गरिएको जानकारी दिनुहुदै अशक्त व्यक्तिहरुको डाटा संकलन गरि थप मद्दतको कार्यक्रमहरु गरिने आश्वासन दिनुभएको थियो । क्लवले ४४ जनालाई हविल चेयर, २ जनालाई श्रवणयन्त्र, १८ जनालाई वैशाखी, ४ जनालाई वाकर तथा २७ जनालाई लठ्ठी दिएको हो । उनीहरुलाई स्थानीय वडा कार्यालयसंग समन्वय गरेर ति सामग्री प्रदान गरिएको जानकारी दिनुहुदै क्लवका अधिकृत साहले भन्नुभयो, ‘पहिलो चरणमा सबैलाई मिलाएर करिब ५ लाख बराबरको सामग्री दिइएको छ ।’
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. २ बस्ने नविन कुमारले वुधबार आफ्नो १२ वर्षको छोरा पियुषको लागि ह्विल चेयर पाएपछि औधी खुशी देखिए । कहि जानुपर्दा छोरालाई बोकेर लानुपर्दा धेरै कठिनाई हुने गरेको बताउनुहुदै उहाँले छोराले आफै नचलाएपनि यसमा बसाएर उनलाई कतै लिएर जाँदा सहज हुने बताउनुभयो । पियुषको दुवै हात, खुट्टा नचल्ने समस्या छ भने बोल्न र बुझन पनि कठिनाई हुने गरेको बताउनुहुदै नविनले ह्विल चेयर प्रदान गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।