सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न आदेश – Jaleshwortoday

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न आदेश

 ११ जेष्ठ २०८१, शुक्रबार २२:५३  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ जेठ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

गएको बुधबार जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो । पहिलो पटक दिइएको समय बिहीबार नै सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको हो ।

सिरोहियाका तर्फबाट कानुन व्यवसायीहरुले उनलाई गैरकानुनी रुपमा धरपकड गराएको र नागरिकता विवादको विषय थुनामा राख्न नपर्ने खालको भन्दै रिहा गर्न माग गरेका थिए । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए ।

पक्राउको विरोधमा सर्वत्र आलोचना भइरहेका बेला जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए ।

त्यसकै आधारमा हतियारसहित आएको प्रहरीले सिरोहियालाई गएको मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा ल्याएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बखत सहकारीको बचत अपचलन गरेको प्रमाणसहित कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन÷प्रसारण गरिरहेको थियो । त्यसपछि गृहमन्त्री लामिछानेले संसद्देखि पार्टीका कर्यक्रम तथा सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको पृष्ठभूमिका उनी अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कार्यसमिति सदस्य महतोले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषा प्रहरीमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।

विभिन्न राजनीतिक दल, पेसागत संगसंगठन, नागरिक समाज, सञ्चार सम्बद्ध संस्था, कानुनविद्‌ लगायतले सिरोहियाको पक्राउ गलत भन्दै रिहा गर्न माग गरिरहेका छन् । सञ्चार सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरुले पनि समाचार प्रकाशितपछि त्यसको प्रतिशोधमा सिरोहियालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।