जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ जेष्ठ
चुरे अभियानीद्वारा सोमबार जनकपुरधाममा मुख्यमन्त्री कार्यालयको अगाडी विरोध प्रदर्शन गरिएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको मधेस प्रदेश अध्यक्ष अमन यादवको अध्यक्षतामा निकालिएको विरोध रैली जनकपुरधामको विभिन्न चौक हुदै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सामुने पुगी प्रदर्शनकारीहरुले चर्काे नाराबाजी तथा विरोध प्रदर्शन गरेका थिए । चुरे तथा वन जंगल जोगाउ र देश र मधेसलाई मरुभूमि हुनबाट बचाउ भन्ने विभिन्न नाराहरु प्रदर्शनकारीहरुको सुनिएको थियो । विरोध कार्यक्रममा अभियानका विभिन्न प्रदेश तथा धनुषा जिल्ला पदाधिकारीहरु,महिला तथा पुरुषहरुको सहभागिता देखिएको थियो । सप्तरी जिल्लाको भारदहबाट बैशाख १६ गतेदेखि शुरु भएको पदयात्रा जेष्ठ १० गते २४ औ दिनमा काठमाडौं पुगेर माइतीघर मण्डलामा धर्ना दिएको ४ दिन पुगे पनि संघीय सरकारबाट कुनै पनि किसिमको आस्वासन नआए पछि यता जिल्ला तथा प्रदेश स्तरमा विरोध प्रदर्शन गर्न बाध्य रहेको प्रदेश अध्यक्ष यादवले बताउनुभयो । यादवले १२ बँुदे माँग को सम्बोधन संघीय सरकार तथा प्रदेश सरकारले नगरे आफूहरु झन शसक्त आन्दोलन गर्ने बताए । चुरे तथा वन जंगल विनाशका कारण अहिले वातावरण तथा यहाँको ईको शिस्टम नै विग्रेको र यसभन्दा पनि भयाभय अवस्था आउने भएको कारण चुरे तथा वन जंगल संरक्षण गर्न अपरिहार्य रहेकोले यसको लागि सबै जनाले आ—आफ्नो ठाउँबाट सहयोग गर्न अध्यक्ष यादवले आग्रह गरे ।