बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सुरु – Jaleshwortoday

बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सुरु

 १५ जेष्ठ २०८१, मंगलवार ०१:०३  
pic life

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ जेष्ठ

सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सोमबारदेखि जनकपुरधाममा सुरु भएकोे छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्र संघका एजेन्सीहरु (युनिसेफ, युएनएफपीए, आइएलओ र युएन ओमन)को आर्थिक सहयोगमा लाइफ नेपालले आयोजना गरेको तालिमको खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयालले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै सचिव फुयालले प्रशिक्षार्थी बालबालिका समाजको लिडर भएको हुँदा टोलटोलमा बालमैत्री बाताबरण निर्माण गर्न सकृय हुनुपर्ने बताए । बाल बिवाह तथा बाल स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिति र विद्यालय सक्रियतापुर्वक लागेर बालमैत्री बनाउने आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

बालमैत्री स्थानीय शासन विज्ञ अशोक खनालले प्रशिक्षकको भुमिका निर्वाह गरेको तालिममा बालमैत्री फोकल पर्सन तथा शिक्षा अधिकृतहरुको सहभागिता रहेको छ ।

खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले तालिमको उदेश्यबारे प्रकाश पारे । युनिसेफ नेपालका जनकपुरधाम कार्यालय प्रमुख अनिता दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बालमैत्री शासनको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार भने नाराका साथ मधेश प्रदेशका ६ जिल्लाका १२ वटा पालिकामा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम संचालन भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, सिरहा जिल्लाको सिरहा नगरपालिका र सखुवा नन्कारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका, सप्तरीका अग्नीसाइर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिका, पर्साको बीरगंज महानगरपालिका, पकहामैनपुर गाउँपालिका र विन्दवासिनी गाउँपालिका, बाराको आदर्शकोतवाल गाउँपालिका र रौतहट जिल्लाको यमुनामाई गाउँपालिका र बौधिमाई गाउँपालिकामा सो कार्यक्रम संचालनमा आएको छ । तालिम बुधबार समापन हुने छ ।