अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता – Jaleshwortoday

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता

 १५ जेष्ठ २०८१, मंगलवार ०१:०६  
MHM Day Celebration_SS Thadhi, Bideh-1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ जेष्ठ

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस–२०२४ को अवसर पारेर धनुषामा “मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी” विषयक वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्लाको बिदेह नगरपालिकाका २ र जनकनन्दिनी गाउँपालिकाका ३ वटा विद्यालयमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको शिक्षा परियोजना अन्तर्गत बिदेह नगरपालिकाका श्रीमाध्यमिक विद्यालय ठाढी र श्री शिवशंकर जनता माध्यमिक विद्यालय इटहर्वा तथा जनकनन्दनी गाउँपालिकाका श्रीमाध्यमिक विद्यालय खजुरी, शंकर माध्यमिक विद्यालय बनरझुला र आधारभूत विद्यालय कठालमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।

बिदेह नगरपालिका र जनकनन्दनी गाउँपालिका भित्रका बालबालिका र किशोरकिशोरीहरुका लागि समावेशी गुण्स्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले संचालित शिक्षा परियोजना अन्तर्गत आयोजित सो प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको आसमान नेपालका प्राविधिक संयोजक घुरन यादवले बताए ।

महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाउने गरिएको छ ।

अहिलेको समयमा जहाँ महिनावारी स्वच्छता कायम गर्न भनी विभिन्न सामग्रीको उत्पादन र उपलब्धता छ, त्यही कति महिला महिनावारी सुरक्षा र स्वच्छताको आवश्यकताबाट वञ्चित रहेका छन् ।

सामान्य लाग्ने महिनावारी सुरक्षाका साधनको असुविधा हुँदा महिलाले त्यसबाट हुने जोखिमको सामना गर्नुपरेको छ । कतिपय समुदायमा महिनावारीसम्बन्धी कुरा खुलेर गरिँदैन जसले महिनावारी स्वच्छता व्यवस्थापनमा अज्ञानता र अशिक्षाको जरा फैलाउन मद्दत गर्छ ।

आवश्यकता अनुसार गोपनीयताका साथ सरसफाइका निम्ति चाहिने सफा पानी र स्वच्छ वातावरण सहितको संरचनाको उपलब्धता नहुँदा कति किशोरी विद्यालय जान पनि हिच्कियाउँछन् ।

महिनावारी स्वच्छताको स्वस्थ अभ्यासमा बाधक बनेर आउने हाम्रा सामाजिक–सांस्कृतिक रितिथितिहरूले महिलाका दैनिक जीवनदेखि स्वास्थ्यमा ल्याउने प्रतिकूल परिणाम यो एक्काइसौं शताब्दीमा लज्जास्पद कुरा हो ।

महिनावारीको समयमा स्वास्थ्यको ख्याल राख्नु भनेको हरेक दिन आफ्नो स्वास्थ्यको ख्याल राख्नुजस्तै रहेको शिक्षकहरुले बताए ।

महिनावारी स्वच्छताको स्वस्थ अभ्यासलाई अनुसरण गर्दा यौन तथा प्रजनन् स्वास्थ्यमा संक्रमण हुने घटना ९७ प्रतिशतसम्म कम हुने दावी गरिएको छ ।

५ विद्यालयमा ७४ जना छात्रासहित १३० जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु खुलेर महिनावारी सम्बन्धमा मन्तब्य राखे ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई क्रमश ः अभ्यास पुस्तिका–८ थान, बलपेन–५थान र क्यालकुलेटर–१ थान, अभ्यास पुस्तिका–६ थान, बलपेन–५ थान र जिओमेट्री बक्स–१ थान र अभ्यास पुस्तिका–३ थान, बलपेन–५ थान रकलर–१ प्याकेटद्वारा पुरस्कृत गरिएको थियो र सहभागी स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई अभ्यासपुस्तिका–१ थान र बलपेन–१ थान प्रदान गरिएको प्राविधिक संयोजक यादवले बताए ।

सो अवसरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आसमान नेपालका सामाजिक परिचालकहरु अंजन यादव, अनिती पाल, संजन राम र रिंकी साह र फिल्ड सुपरभाइजरहरु राजेन्द्र सदाय, ब्रह्मदेव यादव, रामविनय यादव र रिंकु साह लगायतको उपस्थिति रहेको थियो ।