
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १६ जेष्ठ
धनुषाको शहीदनगर नगरपालिकामा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
मधेश प्रदेशसहित देशभर छुट्टै पहिचान बनाउन सफल आसमान नेपाल नामक गैरसरकारी संस्थाले यसै महिनामा आफ्नोे रजत जयन्ती मनाउन लागेको हो ।
आसमान नेपालको रजत जयन्ती र अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर धनुषाको शहीदनगर नगरपालिकस्थित श्रीजनता आधारभूत विद्यालय यदुकुहामा सो दिवस मनाइएको हो ।
सो अवसरमा शहीदनगर नगरपालिकाको ११ वटा विद्यालयबीच मावि, निमावि र प्राविस्तरीय चित्रकला, वक्तित्वकला र गायन प्रतियोगिता गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको गल्र्स स्टैण्डिङ स्ट्रोङ परियोजना(जीएसएस) अन्तर्गत आयोजना गरिएको चित्रकला, वक्तित्वकला र गायन प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा सबै तहका छात्रछात्राहरुले उत्साहका साथ सहभागिता जनाएको आसमान नेपालका फिल्ड सुपरभाइजर विजय कुमार सदायले बताए ।
उनका अनुसार ४५ जना महिलासहित ७० जनाको सहभागिता रहेको थियो ।
सामाजिक सुधारको क्षेत्रमा निरन्तर लागेको आसमान नेपालले आउँदो साता २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको छ ।