बालविवाह न्युनिकरण गर्न धर्मगुरु र मौलानासित छलफल – Jaleshwortoday

बालविवाह न्युनिकरण गर्न धर्मगुरु र मौलानासित छलफल

 १६ जेष्ठ २०८१, बुधबार २१:३२  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १६ जेष्ठ

बालविवाह न्युनिकरण विरुद्धको अभियानमा धनुषाको विदेह नगरपालिकाका धर्मगुरु तथा मौलानाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विदेह नगरपालिकाको जनता नमुना मा.वि.मा सम्पन्न पालिका स्तरीय धर्मगुरु तथा मौलानाहरुको एक दिने अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह सामाजिक अपराध रहेकाले यसको विरोधमा संचालन भइरहेको परियोजना, कार्यक्रमहरुलाई सघाउने प्रतिबद्धता पनि उनीहरुले जनाए ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले बालविवाह न्युनिकरण परियोजना अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा धर्मगुरु र मौलानाहरुले बालविवाहले समाजमा निम्त्याएको कुरीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

स्थानीय बसिर मियाँ कवारीले बालविवाहबाट कुनै पनि फायदा नरहेको यसबाट सामाजिक बेफायदा मात्र रहेकोेले बालविवाह गराउन नहुनेमा जोड दिए ।

त्यसैगरी जियाँ उलहकले अरु भन्दा पनि हामीले बालविवाह गराउनु हुदैन् । त्यसको सुरुवात हामीले नै गर्नुपर्छ जसले बालविवाह न्युनीकरणमा सहयोग पुग्छ उनले भने ।

यसैगरी जनता नमुना मा.विका शिक्षक अभिभावक संघका अध्यक्ष उतिमलाल मंडलले बालविवाह न्युनीकरणमा धर्मगुरुहरुको भुमिका महत्वपुर्ण भएकोले बालविवाहलाई बहिष्कार गर्नुपर्नेमा जोड दिए ।

बालविवाहको परिचय, यसको कारण र असरहरु, विवाह सम्बन्धि धार्मिक ग्रन्थमा उल्लेख भएका कुराहरु, कानुनी प्रावधान, धर्मगुरु र मौलानाहरुको भुमिका बारे अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको थियो ।

बालविवाहको बारेमा कानुनी जानकारी तथा धर्मगुरुहरुको बालविवाह न्युनीकरणमा रहेको भुमिका बारे छलफल गर्न आयोजना गरिएको अन्तरक्रियामा बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यलगायत महिला हिंसा बारे समेत चर्चा गरिएको थियो ।

आसमान नेपालका रामकुमार महराले सहजीकरण गरेका कार्यक्रम रिंकु कुमारी साहले व्यवस्थापन गरेका थिए ।

सबै मिलेर आ आफनो सन्तानको कम उमेरमा विवाह नगर्ने, जजमानहरुलाई सम्झाउने, चिना हेर्ने बेलामा जन्मदर्ता सहित उमेर हेर्ने, बालविवाहको भोज नखाने र जन्तीमा सहभागी नहुने, गाउँघरमा जनचेतना जगाउने, चिया पसल, बैठक तथा भेलामा बालविवाह सम्बन्धि छलफल गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रमलाई निरन्तरता दिनका लागि आसमान नेपाललाई सुझाव दिदै उतिमलाल मण्डलले समापन गरेको कार्यक्रममा २२ जना धर्मगुरु र मौलानाहरुको उपस्थिति रहेको थियो ।