बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर – Jaleshwortoday

बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

 २० जेष्ठ २०८१, आईतवार २१:४१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २० जेष्ठ

धनुषाको पाँच पालिकाका सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा आसमान नेपालको समन्वयमा संचालित“समावेशि शिक्षा परियोजना”अन्तर्गत जिल्लाको पाँच वटा पालिकाहरु विदेह, कमला, सबैला र शहिदनगर नगरपालिका तथा जनकन्दनी गाउँपालिकाका १२ वटा विद्यालयहरुमा बालबालिकाहरुको स्वास्थ्य सम्बन्धी निःशुल्क परिक्षण गरिएको हो ।

यस अघि ५ वटा पालिकाका ३५ वटा विद्यालयका शिक्षकहरुको वासिङ्गटन विधिबाट कार्यगत सीमितता पहिचान सम्बन्धी तालिम दिइएको थियो । ३५ वटै विद्यालयका शिक्षकहरुले आ आफ्ना विद्यालयका बालबालिकाहरुको कार्यगत सीमितता परिक्षण गरेका थिए । जसअनुसार ९९४२ (५७२८ बालिका र ४२१४बालक) बालबालिकाहरुको परिक्षण गरिएको थियो । जसमध्ये अधिकतममा कान र आँखा सम्बन्धी समस्या पत्ता लागेको थियो ।

परियोजना अन्तर्गत थप जाँचका लागि जेठ १३ गतेदेखि १८ गते सम्म नाक, कान र घाँटिका विशेषज्ञ डा. विपिनकुमार साह र आँखारोग विशेषज्ञ डा. सुभाषचन्द्र यादवको टोलीबाट १२ वटा विद्यालयहरुमा शिविर संचालन गरि गरिएको थियो ।

शिविरमा २६७ जना बालबालिकाहरुको आँखा, नाक, कान र घाँटि सम्बन्धि परीक्षण गरिएको थियो । जस अन्तर्गत सबैलाको २ विद्यालयको ६५ जना, जनकनन्दनीको ३ विद्यालयका ५० जना, कमलाको ३ विद्यालयका ५१ जना, विदेहको ३ विद्यालयका ४१ जना र शहिदनगरको २ विद्यालयका ६० जनाको परिक्षण गरिएको थियो ।

डा. विपिनकुमार साहका अनुसार जाँचगरिएका अधिकतम बालबालिकाहरुमा कान सम्बन्धि समस्या देखिएको थियो ।

आसमान नेपालको तर्फबाट परियोजनाका कर्मचारी संजिव सिंहका अनुसार जाँच पछि गंभीर प्रवृतिका समस्या भएका बालबालिकाहरुको विशेषज्ञहरुको सल्लाहअनुसार निःशुल्क उपचार गराई औषधि उपचार, चश्मा, कान सुन्ने मेसिन आदि उपलब्ध गराई दिने जानकारी दिए ।

साथै अपाङ्गता भएका बालबालिकाहरुको थप सेवा सुविधाका लागि सम्बन्धित पालिका र वडासँग समन्वय तथा अपाङ्गता सम्बन्धी कार्ड नभएका बालबालिकालाई कार्ड बनाउनपनि सहयोग गर्ने सिंहले बताए ।

श्रीशिवशंकर जनता माध्यमिक विद्यालय, ईटहरवाका प्रधानाध्यापक कृष्ण देव यादवले झट हेर्दा अपाङ्गता नदेखिने बालबालिकाहरु पनि यो शिविरबाट अपाङ्ग फेला परेको बताए । भविष्यमा हुन सक्ने सम्भावित जोखिमबाट बच्न सचेत पारेको छ । अब उपचार समयमा भएमा उनीहरुको भविष्य राम्रो हुने विचार प्रअ यादवले राखे ।