आसमान नेपालको रजत जयन्तीमा मैत्रीपूर्ण महिला फुटवल – Jaleshwortoday

आसमान नेपालको रजत जयन्तीमा मैत्रीपूर्ण महिला फुटवल

 २० जेष्ठ २०८१, आईतवार २१:४४  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २० जेष्ठ

आसमान नेपालको २५औं बार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना गरिएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नंः४ को खजुरीचन्हास्थित मैदानमा मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित बाल बिवाह न्यूनीकरण, शिक्षा परियोजना अन्तर्गत २५औं वार्षिकोत्सवको अवसर पारेर मैत्रीपूर्ण महिला फुटबल खेल खेलाइएको छ ।

आसमान नेपालका महिला कर्मचारी टोली र श्रीके.एस.एच.एस.बी.मा.बि खजुरी महुवा टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो ।

श्रीके.एस.एच.एस.बी.माविले मैत्रीपूर्ण खेल २–० गोल अन्तरले जितेको छ । शनिबार दिउँसो खेलिएको खेलमा पुजा दास गोल गर्दै मावि खजुरी महुवालाई अग्रता दिलाइन् । खजुरी महुवाकी सपना मण्डल १ गोल थप्दै अग्रता दोब्बर पारेकी थिइन् । आसमान नेपालका कर्मचारीहरुले मौका बनाएपनि गोल भने गर्न सकेनन् ।

जनकनन्दनी गाउँपालिकाका महाबीर स्पोर्ट्स क्लवका खेलाडी अमर साह, लाइन्स म्यान सुनिल मण्डल र गणेश गुप्ताले खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साह, कार्यक्रम व्यवस्थापक दिलिप कुमार यादव, अजय यादव, खिलानाथ निरौला लगायत आसमान नेपालको कोषाध्यक्ष रेखा यादव र बालबिवाह न्यूनीकरण परियोजनाका फिल्ड सुपरभाइजर राजेन्द्र सदाय, शिक्षा परियोजन र जीएसएस परियोजनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मधेशमै अग्रस्थानमा रहेको गैरसरकारी संस्था आसमान नेपालले यस वर्ष रजत जयन्ती मनाउन लागेको हो ।

आसमान नेपालले साताव्यापी रुपमा रजत जयन्ती मनाउन लागेको कार्यक्रम प्रबन्धक दिलिप कुमार यादवले बताए ।

यादवका अनुसार अंग्रेजी क्यालेण्डरका अनुसार जुन १ तारेखदेखि ६ तारेखसम्म विविध कार्यक्रमहरुको आयोजना गर्ने तयारी छ ।