जेठ २८ र २९ गते रविमाथि दुई ठूला मुद्दामा बहस – Jaleshwortoday

जेठ २८ र २९ गते रविमाथि दुई ठूला मुद्दामा बहस

 २० जेष्ठ २०८१, आईतवार २१:४८  
3

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० जेष्ठ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘कार्य व्यस्तता’ जनाउँदै संसदीय समितिको बोलावटलाई बेवास्ता गरेको पाइएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले पटक पटक आग्रह गर्दा पनि ‘कार्य व्यस्तता’ देखाउँदै गृहमन्त्रीले बैठक छलेको समितिका एक जना सदस्यले बताए ।

ट्राफिक नियम उल्लंघन गर्ने भएभरका सबैलाई राजधानीका चोक र सडकमा स्वयमसेवकको ज्याकेट लगाएर खटाउने मन्त्रीको ठाडो निर्णयबारे जानकारी लिन राज्यव्यवस्था समितिले बैठकमा आमन्त्रण गरेको हो । नेपालको संविधान २०७२,प्रचलित कानुन विपरितको उक्त कार्यको सर्वत्र आलोचना भएको छ ।

समितिका सदस्यहरुले त्यस्तो कारबाहीको व्यवस्था कानुन बनाएर गर्नुपर्ने धारणा राख्दै आएका छन् । समिति सभापति रामहरि खतिवडाले भने, ‘ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय बौलठ्ठीपन जस्तै भयो । यस्तो एकांकी निर्णय राणा शासनमा मात्रै सम्भव थियो । उक्त निर्णयबारे छलफल गर्न बोलाएका थियौं । एक, दुई दिनमा समय दिन्छु भने पनि अहिलेसम्म जानकारी आएन ।’

राज्य व्यवस्था समितिले पछिल्लो पटक अस्ति शुक्रबारको बैठकमा उपस्थित हुन मन्त्री लामिछानेलाई आमन्त्रण गरेको थियो । पहिले ‘हुन्छ’ भनेर पछि टाइम मिलाउन नसकिएको जवाफ पठाइएको बुझिएको छ ।

गृहमन्त्रीको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा भने आजै अन्तरिम आदेश जारी भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्रीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

कृष्ण बिकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासबाट कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो । आज सर्वोच्चमा भएको उक्त रिटमाथिको छलफलमा कान्तिपुर मिडिया ग्रुपको कानुनी सल्लाहकारसमेत रहेका कानुन व्यवसायी रमण कर्णलेसमेत बहस गरेका थिए ।

आजै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले ‘क्लिन चिट’ दिनुको कारण देखाउन आदेश दिएको छ । गृहमन्त्रीलाई निलम्बन गर्नेवारे अन्तरिम आदेश जारीका लागि गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई छलफलमा बोलाउने आदेशसमेत भएको छ । छलफलको निम्ति मिति २८ गतेलाई तोकिएको छ ।

यस्तै मन्त्री लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दाको पेसी सोको भोलिपल्ट जेठ २९ गते तोकिएको छ ।