घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला – Jaleshwortoday

घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला

 २३ जेष्ठ २०८१, बुधबार ००:१३  
ef9c46dc-e1ff-4b22-aa48-f46302a719b0

मो.रइस आजाद
रौतहट, २२ जेष्ठ

रौतहटको राजपुर नगरपालिकामा एक जना पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । राजपुर-१ को हुलाकी सडकखण्डमा स्थानीय जितु राय यादवको खेतमा ४५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

घटनाको प्रकृति हेर्दा ती पुरुषको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् । मृतकको गोजीबाट प्राप्त कागजपत्रमा उनको ठेगाना भारतको बिहारस्थित मोतीहारी रहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताइन् । शव फेला परेको स्थानभन्दा केही अगाडि सिजे ०१ एजे २५६८ नम्बरको भारतीय मोटरसाइकल पनि फेला परेको थियो । उक्त मोटरसाइकल भारतको मोतीहारी जिल्ला मठिया ग्रामका रविन्द्र सिंहको नाममा दर्ता रहेको हुँदा भारतीय नागरिककै हत्या भएको अनुमान गरिएको छ ।

हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।