विदेहमा नमूना युवा नगरसभा – Jaleshwortoday

विदेहमा नमूना युवा नगरसभा

 २३ जेष्ठ २०८१, बुधबार २३:४६  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २३ जेष्ठ

धनुषाको विदेह नगरपालिकामा संचालित तीन दिवसीय नमूना युवा नगरसभा सम्पन्न भएको छ ।
श्रीजनता नमूना माविमा युवा परिचालन तथा नेतृत्व विकास गर्ने उदेश्यले संचालित नमुना नगरसभामा कमला नगरपालिका, जनक नन्दनी गाउँपालिका र विदेह नगरपालिका गरी २८ जना युवाहरुको सहभागिता रहेको थियो ।
तीन दिने नगरसभाको पहिलो दिन सरकार संचालन प्रक्रिया र संरचना, स्थानीय सरकार संचालन ऐन २०७४ र तीनै तहको सरकारको बारेमा छलफल गरी मतदान प्रक्रियाबाट नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको छनौट गरिएको थियो ।
जसमा नगर प्रमुखको रुपमा अल्का साह १७ मत ल्याई निर्वाचित भएकी थिइन् भने उनका प्रतिद्वन्दी बिपाशा कुमारी साहले १२ मत प्राप्त गरिन् ।
यसै गरी उपप्रमुख र वडाध्यक्षहरुको पनि निर्वाचनप प्रक्रियाबाट चयन गरिएको थियो । उपप्रमुखमा न्युटन साह निर्वाचित भएका थिए । निर्वाचित उम्मेदवारहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नगरसभाको दास्रो दिन नगर प्रमुखले सम्पूर्ण कार्यपालिकाका सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । जनप्रतिनिधि निर्वाचित भएपछि चरणगत रुपमा नमूना युवा नगरसभाको अभ्यास गरिएको थियो । जसमा अल्का साह नगरप्रमुख, न्युटन साह नगर उपप्रमुख र सोनु कुमार पासमान प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए र बाँकी कार्यपालिका सदस्यको भूमिकामा थिए ।
तेश्रो तथा अन्तिम दिन पुनः नमूना युवा नगरसभाको अभ्यास अन्तर्गत भएको कार्यपालिकाको पहिलो बैठकमा कार्यपालिका सदस्यहरुले उठाएका विषयहरुमा छलफल भएको थियो । बैठकमा विद्यालयमा दिवा खाजाको व्यवस्था, कृषिमा लगानी, साना तथा घरेलु उद्योगको प्रबद्र्धन, स्वास्थ्य चौकीमा औषधीको व्यवस्था र समयमै उपचार, समाजमा रहेका बालविवाहको तथा छुवाछुतको अन्त्य आदिको विषयमा कार्यपालिकाका सदस्यहरुले सभाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए । ती कुराहरुमा नगर प्रमुखले एक एक गरी सबैको सम्बोधन गरेका थिए र अन्त्यमा अर्को बैठकको जानकारी गराउदै सभा सम्पन्न भएको थियो ।
अल्का साहले नमूना नगरसभा अभ्यासमा आफु नगरप्रमुख भएर निर्वाचित हुन पाएकोमा खुशि महसुस भएको बताइन् । अभ्यासले नगरप्रमुखले नगरपालिकामा काम गर्ने तरिका, उहाँहरुको जिम्मेवारी र चुनौती यसको सामाधान बारे सिकेकोे बताईन ।
नगर सभाका सम्पूर्ण प्रक्रियाहरुबारे जानकारी पाउँदा उत्साहित हुनुका साथै अभ्यास गर्न सक्षम भएको युवाहरुले बताए । विदेह नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा आसमान नेपालको बाल विवाह न्युनीकरण परियोजना अन्र्तगत आयोजना गरिएको नगरसभालाई रक्की प्रसाद साहले सहजीकरण गरेको थियो भने विदेह नगरपालिकाका उप प्रमुख आशा देवी झा लगायत आसमान नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले आफुलाई पुर्नताजगी बनाएको र आफुले पनि अब आउने नगरसभामा केही कुराहरु अबलम्बन गर्ने बताउदै यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिदै उपप्रमुख झाले कार्यक्रम समापन गरिन् ।