आसमान नेपालको रजतजयन्ती मनाइयो – Jaleshwortoday

आसमान नेपालको रजतजयन्ती मनाइयो

 २४ जेष्ठ २०८१, बिहीबार २३:५१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २४ जेष्ठ

जनकपुरधाम । सामाजिक रुपान्तरणमा सरकारी निकायलाई सघाउँदै आएको आसमान नेपालले बिहीबार रजतजयन्ती मनाएको छ ।

मधेशसहित देशका अन्य प्रदेशका जिल्लाहरुमा सामाजिक रुपान्तरणका लागि आसमान नेपालले दातृ निकायको सहयोगमा करिब २७ वटा परियोजना संचालन गर्दै आएको छ । २५ वर्ष पूरा गरेको अवसर पारेर आसमान नेपालले बिहीबार जनकपुरधाममा भव्य कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशमा गैरसरकारी संस्थको भूमिका महत्वपूर्ण रहेको बताए ।

शिक्षा, स्वास्थ्य, महिला अधिकार, लैंगिक समानता, सामाजिक विभेद, सामाजिक कुरीति विरुद्धको सरकारी अभियान सफल पार्न गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।

आसमान नेपालले मधेशसहित देशका अन्य प्रदेशमा समेत सामाजिक रुपान्तरणको लागि उदाहरणीय कार्य गरेको बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य मुक्ता कुमारी यादवले गैरसरकारी संस्थाको भूमिका सामाजिक रुपान्तरणमा महत्वपूर्ण रहेको बताउँदै आसमान नेपाल यसको उदाहरण रहेको बताइन् ।

पूर्व शिक्षक समेत रहेकी सांसद यादवले धनुषा जिल्लाको शिक्षा क्षेत्रमा आसमान नेपालको लगानी महत्वपूर्ण रहेको बताइन् ।

जनता समाजवादी पार्टी(जसपा) नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले शिक्षा, स्वास्थ्य, लैगिक समानता, सुशासन, प्रजनन अधिकार लगायत बालविवाह विरुद्धको अभियानलाई आसमान नेपालले प्रभावकारी ढंगले अघि बढाएको बताए ।

आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने कुरा मौलिक हकमार्फत सुनिश्चित गराउन आसमान नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको उनले बताए ।

समाजमा रहेका आर्थिक र सामाजिक रूपमा कमजोर व्यक्तिका प्रतिभा पहिचान गरी उनीहरूलाई समाजका क्रियाकलापको मूल धारमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कूलमा हुनुपर्छ भने नाराका साथ आयोजना गरिएको समारोहमा प्रदेशसभा सदस्य संजय कुमार महतोले समाजिक उत्थानमा सबैको सहयोग आवश्यक रहेको बताए । सरकारको ध्यान जाननसकेको ठाउँमा गैरसरकारी संस्थाले निर्वाह गरेको भूमिका सराहनीय रहेको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले समाजमा घट्दै गएको सामाजिक सद्भावप्रति चिन्ता व्यक्त गरे ।

शिक्षाको मौलिक हक कार्यान्वयनको लागि सरकारका अतिरिक्त गैर सरकारी संस्थाहरूले पनि कार्यक्षेत्र बनाएर लाग्नु सकारात्मक रहेको उनले बताए ।

प्रजनन् स्वास्थ्य, अपाङ्ग उत्थान र स्वरोजगारको क्षेत्रमा पनि आसमान नेपालले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको कार्यक्रम निर्देशक दिनेश साहले जानकारी दिए ।

नैतिक शिक्षा लागू गर्नमा आसमान नेपाललाई पहलको लागि उनले आग्रह गरे । समाजमा अहिले नैतिकताको कमी देखिएकोले यसतर्पm ध्यान दिन आसमान नेपालका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

रामप्रगास यादवको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुले बालबालिकालाई विद्यालय पठाउनमा आसमान नेपालले खेलेको भूमिकालाई लक्षित गरेर आसमानको यात्रा नामक नाटक समेत मंचन गरिएको थियो ।