जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ जेष्ठ
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं.३ का २४ वर्षिय शिवम पाण्डेय विगत एकवर्षदेखि हर्नियाबाट पीडित रहनुभएको थियो । शुरुमा हाइड्रोसिल भएको बुझनुभएका पाण्डेयले असह्रय पीडा हुन थालेपछि भारतको दरभंगा गएर चिकित्सकलाई देखाउनुभयो । चिकित्सकले चेकजाँच गरेपछि हर्निया भएको र यसकोलागि शल्यक्रिया गर्न सुझाव दियो ।
भारतीय चिकित्सकले शल्यक्रियाको लागि बिस हजार भारतीय रुपैया लाग्ने, औषधीको थप लाग्ने र करिब एकहप्तासम्म अस्पतालमा बस्नुपर्ने जानकारी गराएपछि रकम अभावले उहाँ घर फर्किनुभयो । तर चार महिना अगाडी आफ्नै गाउँठाउँको अस्पतालमा हर्नियाको शल्यक्रिया हुने जानकारी पाएपछि उहाँले सहज रुपमा सस्तो दरमै उपचार गराएर अहिले खुशी हुनुभएको छ ।
घर पायक भएको ठाउँमा उपचार पाएपछि समयको पनि वचत भएको तथा आर्थिक रुपमा समेत कम खर्च भएको बुझाई युवा पाण्डेयको थियो ।
विगतमा यसक्षेत्रका स्थानीयबासीहरु हाइड्रोसिल, हर्निया, भगन्दर, एपेण्डिक्स, पाइल्स, फिस्टुलाको उपचारको लागि भारतीय चिकित्सक तथा जनकपुर पुग्नुपर्ने वाध्यता थियो तर पाँच महिनादेखि प्रादेशिक अस्पताल जलेश्वरमा नै यी उपचारहरु हुन थालेपछि यसक्षेत्रका वासिन्दाहरुलाई ति समस्याको उपचारमा सहज भएको छ ।
पुस महिनादेखि प्रादेशिक अस्पताल जलेश्वरमा करार दरबन्दीमा आउनुभएका कन्सल्टेन्ट सर्जन डा.गणी आलमले माइनर शल्यक्रियादेखि लिएर हर्निया, एपेण्डिक्सलगायतका शल्यक्रियाहरु शुरु गरेपछि हरेक हप्ता चारदेखि पाँचजनाको शल्यक्रिया हुदै आएको छ । अहिले धेरै शल्यक्रियाहरु माइनर देखिएको बताउनुहुदै डा.आलमले यस अस्पतालमा आइ.सि.यु.सेवा तथा टे«न्ड स्टाफ भयो भने पित्त थैलीको अपरेशन लगायतका शल्यक्रियाहरुका साथसाथै जटिल खालको शल्यक्रिया समेत गर्न सकिने बताउनुभयो ।
जटिल खालका शल्यक्रिया गर्दा आइसियुको आवश्यकता पर्न सक्छ तर यस अस्पतालमा सो सेवा उपलब्ध नभएकोले जटिल शल्यक्रियाको लागि बिरामीहरुलाई बाहिर पठाउनुपर्ने वाध्यता रहेको डा.आलमले बताउनुभयो ।
पुसदेखि सेवा शुरु गर्नुभएका डा.आलमले हर्निया, एपेण्डिक्स, पाइल्सलगायतका समस्या लिएर उपचारमा आउने बिरामीहरुको अवस्था हेरेर माइनर समस्या भयो भने अस्पतालमै शल्यक्रिया गर्ने गरिएको बताउनुहुदै अस्पतालमा आइसियु, तालिम प्राप्त जनशक्ति, एनेस्थेसिया, ल्याप्रोस्कोपी मेसिनलगायतकाहरु उपलब्ध भए जटिल खालका शल्यक्रिया समेत गर्न सकिनेमा आफु आशावादी रहेको बताउनुभयो ।
यसक्षेत्रका अधिकाँश व्यक्तिहरु पाइल्स, फिस्टुला, हर्निया, एपेण्डिक्सहरुलाई रोगको रुपमा नलिने गरेको र पछि समस्या हुन थालेपछि मात्रै अस्पताल पुग्ने गरेको बताउनुहुदै डा.आलमले समयमै उपचार गराए कम खर्चमा सहज रुपमा उपचार हुने बताउनुभयो ।