मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार – Jaleshwortoday

मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार

 २६ जेष्ठ २०८१, शनिबार ००:२३  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ जेष्ठ

मधेश प्रदेशको तेश्रो मुख्यमन्त्रीको रुपमा जनमत पार्टीका सतिशकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मुख्यमन्त्री सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार मध्यान्ह पद तथा गोपनियताको शपथ खुवाइन् ।

यसअघि शुक्रबार बिहानै ६ दलीय गठबन्धनले मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गर्न सिफारिस गरिएको थियो ।

प्रदेश प्रमुख भण्डारीले सिंहलाई मधेशको तेश्रो मुख्यमन्त्रीको नियुक्त गरेकी थिइन् ।

६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशकोे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए ।

एक विशेष समारोहबीच प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई शपथ ग्रहण गराएलगत्तै १४ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गरिएको छ ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

 

६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँट भएको थियो । अर्थ मन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव(महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने(सप्तरी) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङेली(सर्लाही)लाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको सपथ लिएका छन् ।

एमालेबाट सत्रुधन सिंह कोइरी(सिरहा)लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राजकुमार लेखी(सप्तरी)लाई शिक्षा तथा संस्कृति मन्त्रालय र प्रमोद जयसवाल(पर्सा)ले खेलकुद तथा समाज कल्याण मन्त्रीको सपथ लिएका छन् ।

जनमत पार्टीको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ । जनमतले मन्त्री भने पठाएको छैन् । उक्त मन्त्रालय तत्काल मुख्यमन्त्री सिंह आफैले राखेका छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।