जीएसएस परियोजनाको जिल्लास्तरीय समीक्षा बैठक सम्पन्न – Jaleshwortoday

जीएसएस परियोजनाको जिल्लास्तरीय समीक्षा बैठक सम्पन्न

 २६ जेष्ठ २०८१, शनिबार ००:४२  
4

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ जेष्ठ

धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा संचालित गर्लस स्टयाण्डिङ स्ट्रोङ्ग(जीएसएस) परियोजनाको जिल्लास्तरीय वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।

जनकपुरधाममा शुक्रबार बसेको समीक्षा बैठकमा सहभागीहरुले महिला सशक्तिकरणमा यो परियोजनाको भूमिका महत्वपूर्ण रहेको बताए ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले परियोजना संचालनमा आएपछि महिलाहरु आप्mनो कुरा राख्न निर्धक्क भएको जिकिर गरे । महिलाहरु सशक्त रुपमा अघि आउनु समाजको लागि सकारात्मक छ, उनले भने–यसमा यो परियोजनाको भूमिका पनि छ । चुल्हाचौकोमा सीमित मधेशका महिलाहरु आत्मनिर्भर र सशक्त भए मात्र समाजको विकास हुने भएकोले यस प्रकारको प्रयासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य क्षेत्रको कार्यक्रममा समन्वय गरेर अघि बढ्नको लागि कार्यालय प्रमुख यादवले आग्रह समेत गरे ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास अनुसन्धान केन्द्र(एसडीआरसी)ले धनुषाको विदेह नगरपालिकाको चार र जनकनन्दनी गाउँपालिकाको ३ वटा वडाहरुमा गर्लस स्टयाण्डिङ स्ट्रोङ्ग(जीएसएस) परियोजना संचालन गरेको छ ।

सो परियोजना अन्तर्गत पालिका र वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन, प्रारम्भिक बालविकास समिति, स्वास्थ्य आमा समूह गठन, बाल उत्प्रेरण कक्ष(खेल कुना) स्थापना, पुरुष सत्र, स्वयम्सेविकाद्वारा स्वास्थ्य आमा समूह र अभिभावक शिक्षासत्र संचालन लगायतको कार्यक्रमहरु संचालन भइरहेको छ ।

एसडीआरसीका अध्यक्ष मंजु कुमारी यादवको अध्यक्षतामा भएको समीक्षा बैठकमा स्वास्थ्यकर्मीहरुले महिला उत्थानमा स्वयम्सेविकाको भूमिका सराहनीय रहेको बताए ।

विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साहले स्वास्थ्य क्षेत्रमा दुरगामी असर देखिने गरी सुधार भएको दावी गरे ।

सार्वजनिक कार्यक्रमहरुमा महिलाहरुको उत्साहजनक सहभागिताले पनि सामाजिक रुपान्तरणमा स्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उनले जिकिर गरे ।

जनकनन्दनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अयोधी दासले गर्भवति जाँच गराउनमा पुरुषको संख्या बढ्दो सकारात्मक रहेको बताए ।

पहिला गर्भवति जाँच गराउन महिलाहरु एक्लै जानुपर्ने बाध्यता थियो, उनले भने–अहिले भने श्रीमान आफै लिएर स्वास्थ्य चौकीमा जाने गरेका छन् । अन्य सूचकहरुमा पनि आमा समूहरुको सक्रिय सहभागिताले पनि उनीहरुमा नेतृत्व विकास हुँदै गएको सहजै अनुमान लगाउन सकिन्छ, उनले भने ।

प्लान इन्टरनेशनल नेपालका मिहिर कुमार झाले समाज उत्थानमा भइरहेको कार्यहरुमा पालिकाहरुले स्वामित्व ग्रहण गर्नुपर्ने धारणा राखे । परियोजना सम्पन्न भएपछि ती कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि पनि पालिकाले स्वामित्व लिनुपर्ने तर्क गरे ।

गर्लस स्टयाण्डिङ स्ट्रोङ्ग(जीएसएस) परियोजनाका कार्यक्रम संयोजक दिवेश श्रेष्ठले परियोजनाको प्रगतिबारे सहभागिहरुलाई प्रस्तुतिकरणमार्पmत जानकारी गराएका थिए ।

सो अवसरमा कार्यक्रम अधिकृत निकिता यादवले कार्यक्रम संचालनको क्रममा अपनाइएको प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।

फिल्ड सुपरभाइजर जिवछ दासले संचालन गरेको बैठकमा एसडीआरसीका सदस्य सुनिता यादव, जनकनन्दनी गापाका फुलकुमारी र विदेह नगरपालिकाका खुश्बु देवी दासले सिकाई अनुभव सुनाएकी थिइन् ।