जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २६ जेष्ठ
धनुषाको जनकनन्दनी गाउँपालिका–३ प्रखे महुवामा बाल उत्प्रेरणा कक्ष (खेलकुना) संचालनमा आएको छ ।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले उद्घाटन गरेसँगै वडा नं. ३ मा बाल उत्प्रेरणा कक्ष संचालनमा आएको हो । यसअघि जनकनन्दनीको वडा नं. ४ खजुरीमा बाल उत्प्रेरणा केन्द्र संचालनमा आइसकेको छ ।
बाल उत्प्रेरणा केन्द्रको उद्घाटन गर्दै गापा अध्यक्ष यादवले बालबालिकालाई पढाईसँगै खेलकूद पनि आवश्यक रहेको बताए ।
पढ्नकै लागि बालबालिकालाई दबाब दिदा उसको अन्य क्रियाकलाप प्रष्फुटन हुन नसक्ने भएकोले खेलकूद पनि आवश्यकय रहेको बताए ।
बालबालिकाको भविष्यप्रति गंभीर भई वडामा संचालनमा ल्याएको बाल उत्प्रेरणा केन्द्रले यहाँका बालबालिकालाई मनोरंजन गर्न र मांसिक रुपमा सकारात्मक हुन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
यस्तो नौलो कार्यक्रम ल्याएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै गापा अध्यक्ष यादवले अन्य वडाहरुमा समेत यस प्रकारको कार्यक्रमहरु ल्याउनको लागि आग्रह गरे ।
सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले बाल उत्प्रेरणा कक्ष संचालन हुँदा बालबालिकालाई मनोरंजन गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
उनीहरुलाई मांसिक रुपमा ताजगी प्रदान गर्न उत्प्रेरणा कक्ष महत्वपूर्ण साबित हुने दावी उनले गरिन् । दुरदरादका वडाहरुमा पनि यस प्रकारको कक्ष संचालनमा ल्याइदिनको लागि उनले सहयोगी संस्थालाई आग्रह गरिन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र जनकनन्दनी गाउँपालिकाको समन्वयमा सामाजिक विकास अनुसन्धान केन्द्र(एसडीआरसी) ले संचालन गरेको गर्लस स्टैण्डिङ स्ट्रोङग परियोजना अन्तर्गत शनिबार एक कार्यक्रम आयोजना गरेर संचालनमा आइसकेको बाल उत्प्रेरणा कक्ष वडालाई हस्तान्तरण गरेको हो ।
बालबालिकाको खेल्ने सामग्रीहरु राखिएको उक्त कक्ष एसडीआरसीले वडाअध्यक्ष विष्णुदेव साहलाई हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अयोधी दासले बालबालिकाको मनोभावमा सकारात्मक परिवर्तन ल्याउन बाल उत्प्रेरणा केन्द्र उपयोगी साबित हुने दावी गरे ।
आयोजक संस्था एसडीआरसीका अध्यक्ष मंजु कुमारी यादवले खेल सामग्रीसहितको खेलकुना नियमित रुपमा संचालन गर्न वडाध्यक्षलाई आग्रह गरिन् । बालबालिकालाई खेलकूदको वातावरण बनाउने कार्य हामी अभिभावकले गर्नुपर्नेमा उनले जोड दिइन् ।
बाल उत्प्रेरणा कक्षमा करिब तीन दर्जन खेल लगायतको सामग्रीहरु राखिएको एसडीआरसीका कार्यक्रम संयोजक बिबश श्रेष्ठले बताए ।
बालबालिकाको दिमागको विकाशको लागि पौष्टिक खाना संगै खेल सामाग्रीको पनि महत्वपूर्ण भूमिका रहने र मानव जीवनकै सबैभन्दा महत्वपुर्ण उमेर गर्भअबस्थादेखि ३ वर्षको उमेरमा दिमागको विकाश ८० प्रतिशतले विकाश हुने भएकोले उक्त कक्षा सिकाइको लागि महत्वपूर्ण रहेको उनले बताए ।
बालबालिकाहरुलाई खेलको माध्यमबाट दिमागको विकाश गराउन र गर्भवती महिला तथा ३ वर्ष मुनिका बालबालिकाको अभिभावकहरु शिशुको स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्था जाने हुँदा गर्भवती महिलालाई आराम गर्न र बालबालीका खेलाउन सहज होस भन्ने उद्देश्यले बाल उत्प्रेरणा कक्षाको स्थापना उनले बताए ।
बाल उत्प्रेरणा कक्षामा बाल खेलौना, कोक्रो, वेवी वाकर, विभिन्न पजल आइटम, रोस्कर, एयर एनीमल बल लगाएतका खेल सामाग्रीको साथै भित्ते लेखन गरिएको छ ।