
जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २६ जेष्ठ
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले मधेश प्रदेशका विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन हुनुपर्ने माँग गर्नुभएको छ ।
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा आयोजित आम जनता पार्टीको जिल्ला भेलालाई आज सम्बोधन गर्नुहुँदै साँसद साहले मधेश प्रदेशको शिक्षा स्तर निक्कै कमजोर भइसकेकोले यसलाई राज्यको मूलधारको शिक्षामा ल्याउनका लागि विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सरकारले नियतवस मधेशको शिक्षालाई कमजोर बनाउन तथा पछाडि पार्न लागेको आरोप लगाउँदै यसले तराई मधेशको बालबालिकाको भविष्य अन्धकारमय हुने खतरा बढेको बताउनुभयो ।
नेता साहले राज्यले सधैं मधेश र मधेशीउपर विभेदकारी नजर राखेको आरोप लगाउँदै मौलिक अधिकारको रुपमा रहेको शिक्षालाई सबैको पहुँचमा पुर्याउन खबरदारी गर्नुभयो ।
उहाँले शिक्षामा तराई मधेशका जनताले समान अवसर र समान स्थान नपाएमा राज्य विरुद्ध ठूलो आन्दोलन हुने चेतावनी पनि दिनुभयो ।