
जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २६ जेष्ठ
पूर्व मन्त्री एवं साँसद प्रभु साहले नेतृत्व गर्नुभएको आम जनता पार्टीको महोत्तरीमा नयाँ जिल्ला कमिटि गठन भएको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा आयोजित आम जनता पार्टीको जिल्ला भेलाबाट महोत्तरीमा आजपाको ७५ सदस्यीय नयाँ जिल्ला कमिटि गठन भएको हो ।
आम जनता पार्टी महोत्तरीको जिल्ला अध्यक्षमा अरविन्द साह, उपाध्यक्षमा धनपत साह, सचिवमा सदिक नदाफ, सह सचिवमा पंकज सिंह र कोषाध्यक्षमा बबिता देवी चयन हुनुभएका छन् ।
त्यसैगरी जिल्ला भेलाले आम महिला मोर्चाको जिल्ला अध्यक्षमा बबिता देवी, उपाध्यक्षमा मिना साह, सचिवमा रंगिना देवी र कोषाध्यक्षमा सावित्री देवी सहित ५१ सदस्यीय कमिटि चयन गरेको छ ।
पार्टीको आईटी आर्मीको जिल्ला अध्यक्षमा सुबोध ठाकुर, उपाध्यक्षमा सुनिल ठाकुर, सचिवमा नितेश साह र कोषाध्यक्षमा राकेश भण्डारी सहित १०१ सदस्यीय कमिटि चयन गरिएको छ ।
पार्टीको जिल्ला अध्यक्ष बिजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह, विशिष्ट अतिथि पार्टी उपाध्यक्ष रीता साह, महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायतका वक्ताहरुले नव गठित कमिटिका पदाधिकारीहरुलाई बधाई दिँदै पार्टीको आवश्यकता तथा उद्देश्यबारे प्रकाश पार्दै वर्तमान राजनीतिको सन्दर्भमा चर्चा गर्नुभएका थिए ।