जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ श्रावण
मधेशी आयोगलेले नेपाल प्रहरी प्रधान कार्यालय र ईलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर-मधेशी समुदायको व्यक्तिलाई मधेशी भनी प्रमणित गरेर मधेशी कोटामा राखेर नियुक्ति सिफारिस गरेको सम्बन्धमा प्रश्न सोधेको छ |
आयोगले प्रहरी प्रधान कार्यलाय र ईलाका प्रशासन कार्यालय, लहान लाई सोमबार एक पत्र पठाउँदै सिरहा जिल्ला साविक विष्णुपुर कट्टी गा.वि.स हाल धनगढीमाई नगरपालिका-१३ का स्थायी वासिन्दा ईश्वर अधिकारी गैर-मधेशी समुदायको भएपनि मधेशी कोटामा २०८१ मा प्रहरी निरीक्षकको लागि सिफारिस भएको घटना प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको छ |
सो पत्रमा आयोगले “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८” प्रकाशित गरिसकेको अवस्थामा गैर-मधेशीलाई कुन आधारमा मधेशी सिफारिस गरी मधेशी कोटामा नियुक्ति दिइएको सम्बन्धमा आधार खुलाएर आयोगलाई जानकारी गराउन भनिएको छ |
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यो घटनाको बारेमा आफूलाई जानकारी हुनबित्तिकै आयोगले कारवाहीको लागि प्रक्रिया बढाएको बताएका छन् | आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर-मधेशी समुदायका व्यक्तिलाई मधेशी समुदायको लागि छुट्टयाइएको कोटामा नियुक्ति सिफारिसले मधेशी समुदाय बात प्रतिष्पर्धा गर्ने प्रतिस्पर्धीहरु माथि गम्भीर अन्याय भएको बताएको छ | सो प्रेस विज्ञप्तिमा यस्ता घटनाहरुले मधेशी समुदायका व्यक्तिहरुको मनोबल कमजोर गर्ने आयोगको ठम्याई रहेको उल्लेख गरिएको छ |
आयोगले गैर-मधेशी समुदायका व्यक्तिलाई मधेशी भनी प्रमाणित नगर्न/नगराउन तथा मधेशी कोटामा गैर-मधेशीलाई सिफारिस नगर्न सम्बन्धित सरोकारवालाहरुलाई सो प्रेस विज्ञप्ति मार्फत सचेत गराएको छ |