जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३० श्रावण
जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा निकै नकारात्मक प्रभाव परिरहेको छ । यो अवस्था हामीले विगत केही वर्ष यतादेखि निरन्तर जसो भोग्दै आइरहेका हौँ । सरकारले के हेरेर बसिरहेछ ?
बालीनाली तयार भएर उठाउने बेलामा बाढी र डुबानले तहसनहस पारेको छ, वातावरणको प्रभाव नियन्त्रण गर्न सरकारले के कस्तो पहल गरेको हो ?
सभामुख मार्फत म सरकारलाई सोध्न चाहन्छु, समयमा वर्षा नहुँदा किसानले खडेरीको सामना गर्नुपरेको छ । सरकार पनि छ भने अनुभूति कसले गराउने ? प्रतिपक्षी दलका तर्फबाट नमूना बाल संसदीय अभ्यासको क्रममा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद संदिप रौनियारले शुन्य समयमा बोल्दै सरकारको कामकाजप्रति प्रश्न उठाए ।
विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनको कारण खोज्न सरकारसित माग समेत गरे ।
प्रतिपक्ष तर्फबाट नमूना बाल सांसद रुची साह विशेष समयमा बोल्दै वातावरणमा परेको प्रभावले खानेपानीको हाहाकार भएको बताइन् । खानेपानीको समस्या विकराल बन्दै जाँदा स्वच्छ खानेपानी नपाउँदा भविष्यको कर्णधार बालबालिकाको जीवन असुरक्षित हुँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण गर्न नसके पृथ्वीमा मानव जीवन पनि रह्न नसक्ने भएकाले यसतर्फ पहलको लागि सरकारसित मागसमेत गरिन् ।
नमुना बाल संसदका प्रमुख प्रतिपक्षी दलका नेता श्रुति रायले, नेपालको संविधान २०७२ ले बाल अधिकारलाई मौलिक हकको रुपमा प्रस्तुत गरिसकेकाले यसलाई गंभीरतापूर्वक लिएर अघि सरकारको ध्यानाकर्षकण गराइन् ।
बालविवाह जति रोक्दा पनि त्यति नै बढिरहेको भन्दै उनले यसको लागि कठोर कानून ल्याउनुपर्ने माग गरिन् ।
स्वीडेन स्भेरिज र सेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालले आयोजना गरेको तीन दिने नमूना बाल संसदको तेश्रो तथा अन्तिम दिन बुधबार नमूना संसदको अभ्यास गर्दै बाल सांसदले शून्य र विशेष समयमा सरकारको ध्यानाकर्षण गराउनका साथै काम कारबाहीमाथि समेत प्रश्न उठाए ।
नमूना बाल संसदमा प्रतिपक्षले सरकारको विरोध गर्दै समसामायिक विषयहरुमा ध्यानाकर्षण समेत गराएका थिए ।
सत्ता पक्ष तर्फबाट नमूना बाल संसदका प्रधानमन्त्री कमल साहले प्रतिपक्षको माग सम्बोधन गर्नुका साथै समन्वय गरेर अघि बढ्ने जानकारी गराएका थिए ।
प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन सभामुखले रुलिङ गरेपछि पर्सा जिल्ला बाल क्लव संजालका अध्यक्ष समेत रहेका नमूना बाल संसदका प्रधानमन्त्री साहले सबै जिल्लाहरुमा वृक्षारोपण अभियान संचालन गरेको जानकारी गराएका थिए ।
बालबालिकाहरुलाई पनि वृक्षारोपण कार्यक्रम गर्नुपर्ने भन्दै उनले जन्मदिनको अवसरमा कम्तीमा एउटा विरुवा रोप्नको लागि आह्वान समेत गरे ।
वृक्षारोपण गरेर नै जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सकिने भएकाले यसमा सरकार गंभीरतापूर्वक अघि बढिरहेको नमूना बाल संसदलाई प्रधानमन्त्रीले जानकारी गराएका थिए ।
अन्य देशमा थ्योरीभन्दा प्राक्टिकल(अभ्यास)लाई बढी प्राथमिकता दिएपनि हाम्रो यहाँ थ्योरी र घोक्ने शैलीले अहिले काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवा मेला लागेको मौखिक प्रश्न गर्दै नमूना बाल सांसद प्रिन्सी यादवले मेलाको विकल्प खोज्नुपर्नेमा जोड दिइन् ।
सत्तापक्षबाट नमूना बाल संसदमा शिक्षा मन्त्री मंदिप कुमार महराले शिक्षा क्षेत्रको विकासका लागि सरकारले छुट्टै योजना ल्याउन लागेको जानकारी गराए ।
शून्य समय, विशेष समय, मन्त्रीसँग प्रश्नोत्तरमा मन्त्रीले जवाफ दिए ।
महिला तथा बालबालिका सम्बन्धी उठेको प्रश्नको जवाफ नमूना बाल संसदमा महिला तथा बालबालिका मन्त्री सलमा खातुनले दिइन् । नमूना बाल प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दै आगामी योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।
सोमबारदेखि सुरु भएको नमूना बाल संसदको अभ्यास सुरुका दुई दिन सैद्धान्तिक प्रशिक्षण दिइएको थियो भने तेश्रो दिन नीति तथा कार्यक्रमको अभ्यास गर्दै बैठकको अभ्यास गरिएको थियो । संसदमा विधेयक निर्माण, दर्ता, पारित गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो ।
नमूना बाल संसदको दर्शकदीर्घामा मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादव, खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्री, सेभ द चिल्डे«ेनका झम्केश्वर ओझा, आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, कार्यक्रम निर्देशक दिनेश्वर साहलगायतको उपस्थिति रहेको थियो । तीन दिने नमूना बाल संसद अभ्यासको सहजीकरण रक्की प्रसाद साहले गरेको आसमान नेपालका किरण यादवले बताइन् ।