जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ भाद्र
१३ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका युवाहरुले जनकपुरमा आमरण अनसन थालेका छन् ।
कमला पुल निर्माणमा संघीय सरकारले चासो नलिएपछि सिरहाका आठ जना युवाहरुले मंगलबार दिउँसोदेखि आमरण अनसन थालेका हुन् ।
सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष इन्द्रजीत यादव, अर्का वडाध्यक्ष समसाद आलम, प्रविण कुमार यादव, शैलेश यादव, भोगेन्द्र यादव, सुरेन्द्र यादव, जीवछ प्रसाद यादव र शिवशंकर यादवले आमरण अनसन थालेका छन् ।
हुलाकी राजमार्ग सिरहा–धनुषाको सीमानामा पर्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने माग लिएर आमरण अनसन थालिएको आन्दोलनका अगुवा समेत रहेका वरिष्ठ पत्रकार रामरिझन यादवले बताए ।
यादवका अनुसार संघीय सरकारले पुल निर्माणमा चासो नलिएपछि प्रदेश सरकारसित माग गरिएको हो ।
प्रदेश सरकारले बजेट खर्च गर्न नसकिरहेका बेला कमला पुल बनाउनमा बजेट विनियोजन गर्नुपर्ने यादवको तर्क छ ।
गएको साउन २५ गते सिरहाबाट सयौको संख्यामा आएका युवाहरुले कमला पुल निर्माणको माग गर्दै जनकपुरधाममा मोटरसाइकल र्याली गरेका थिए ।
जनकपुरधामको परिक्रमा गरेपछि उक्त मोटरसाइकल र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरुले ज्ञापनपत्र बुझाउँदै प्रदेश सरकारलाई एक साताको अल्टिमेटम पनि दिएका थिए ।
सो अवधिमा प्रदेश सरकारले कुनै कदम नचालेपछि बाध्य भएर आज(मंगलबार)देखि आमरण अनसनमा बसेको सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।
१३ वर्षदेखि ती क्षेत्रका बासिन्दा पीडित रहेपनि सरकारले समस्या समाधानतर्फ चासो नलिएपछि आफूहरु निर्णायक आन्दोलन थालेको वडाध्यक्ष यादवले बताए ।
यादवसहित आठ जना युवाहरु मंगलबार दिउँसोदेखि आमरण अनसन बसो हुन् ।
प्रदेश सरकारले बजेट उपलब्ध गराओस्, उनले भने–हामीहरु आफै पुल निर्माण प्रक्रिया अगाडि बढाउछौ ।
आन्दोलनमा उत्रेका युवाहरुमा इन्जिनियरहरु समेत रहेका छन् । सिरहाबासीले पटक पटक संघीय सरकारको ध्यानाकर्षण गराएपनि हालसम्म सुनुवाई भने भएको छैन् ।
पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको वरिष्ठ पत्रकार यादवले जानकारी दिए ।
सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधाम र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच २०८१ असार मसान्तसम्म पुलको पुनःनिर्माण गर्ने सम्झौता भएको थियो ।
पुल निर्माण सुरु भएयता १३ वर्ष बीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भए पनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कमला पुलको ठेक्का लागेको थियो ।