युवा महिलाहरुको लागि व्यवसायिक सीप विकास तालिम – Jaleshwortoday

युवा महिलाहरुको लागि व्यवसायिक सीप विकास तालिम

 ६ भाद्र २०८१, बिहीबार २३:३१  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ भाद्र

जनकपुरधाम । युवा महिलालाई आत्मनिर्भर बनाउने उद्येश्यले धनुषाको विदेह नगरपालिकामा पाँच दिने व्यवसायिक सीप विकास तालिम सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकाको जनता नमूना प्राविधिक मावि बेलापट्टीमा युवा महिलाहरुलाई सीप विकाससम्बन्धी तालिम आयोजना गरेको हो ।

तलिमको सिकाईले युवा महिलाहरुलाई आत्मनिर्भर सहयोग पुग्ने विश्वास आयोजकको छ ।

युवा महिलाहरुलाई व्यवसाय संचालनका लागि व्यवसाय सम्बन्धि सीपको विकास गरि व्यवसायिक योजना निर्माणमा सहयोग पुग्नका साथै व्यवसाय सुरुवात गर्नका लागि क्षमता अभिवृद्धि गर्ने उद्येश्यले तालिम आयोजना गरिएको आसमान नेपालका प्राविधिक संयोजक दिलिप कुमार साहले बताए ।

गएको भदौ ४ गतेदेखि सुरु भएको व्यवसायिक सीप विकास तालिममा विदेह नगरपालिकासहित शहीदनगर र कमला नगरपालिकाका युवा महिलाहरु सहभागि छन् ।

तालिममा सहभागि युवा महिलाहरु सिकाई उपलब्धीबाट उत्साहित छिन् । तालिममा सहभागि भएपछि आफैपनि जीवनमा केही गर्न सकिन्छ भने बुझेको विदेह नगरपालिका–१ की कल्पना कुमारी मण्डलले बताइन् ।

तालिममा सहभागि भएर आफै पनि आम्दानी गर्न सकिन्छ भने लागेको कल्पनाले बताइन् । भविष्यमा किराना पसल संचालन गर्ने लक्ष्य राखेकी कल्पना तालिममा अवसर पाएर उत्साहित छिन् । उनीसँग तालिममा सहभागि भएकी विमला पासवान पनि आत्मनिर्भर हुनको लागि व्यवसाय अगाडि बढाउने सोंचमा छिन् । कष्टमेटिक पसल संचालन गरेर आत्मनिर्भर हुने विमलाको सपना छ । तीन वटै पालिकाबाट सहभागि २४ जना युवा महिलाहरुले भविष्यमा आफै व्यवसाय संचालन गरेर आत्मनिर्भर हुने सोंच बनाएकी छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले ती पालिकाहरुका युवा महिलाहरुलाई आत्मनिर्भर हुनको लागि सीप विकास तालिम दिएर व्यवसाय संचालनमा समेत सहयोग गरेको छ ।

सामाजिक विकासमा लागेको आसमान नेपालले युवा महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउनमा जोड दिदै उनीहरुलाई लक्षित कार्यक्रमहरु संचालन गरिरहेको छ ।

बालविवाह अझै पनि मधेशमा महिलाहरुको लागि अभिशाप रहेकोले यसको विरुद्ध प्रभावकारी अभियान संचालनको क्रममा युवा महिलाहरुलाई लक्षित गरेर आसमान नेपाल अघि बढेको छ ।

बालविवाहमा परेका युवा महिलाहरुलाई पनि आत्मनिर्भर हुनका लागि तालिमहरुमा सहभागि गराइएको आसमान नेपालका प्राविधिक संयोजक साहले बताए ।

‘यसैलाई ध्यान दिदै युवा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौं,’ साहले भने । सिप विकास तालिमका साथै महिलाहरुलाई व्यवसायिक अनुदान समेत दिने योजना रहेको छ । सिप विकास मात्र गरेर नपुग्ने भएकाले सिकेको सिपलाई प्रयोग गरी व्यवसाय गर्न सकुन भनेर महिलाहरुलाई व्यवसायमा समेत सहयोग गर्ने योजना छ ।

कल्पना कुमारी मण्डल, विमला पासवान पनि बालविवाह पीडित छिन् । तालिममा अपांगता भएका दुई जना युवा महिला सहभागि रहेको आसमान नेपालका फिल्ड सुपरभाइजर रामविनय यादवले बताए ।

उनीहरु आफैले रोजेर व्यवसाय संचालन गर्न पाउँछन्, प्राविधिक संयोजक साहले भने–व्यवसायमा पनि आसमान नेपालले भविष्यमा सहयोग गर्छ ।

आम्दानी दिने खालका काममा सामान्य सिपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले यस प्रकारको तालिमले उनीहरुलाई उत्साहित बनाएको विदेह नगरपालिकाका रोजगार संयोजक राकेश यादवले बताए ।

आयआर्जन मुलक पेशामा महिलाहरु लाग्न नसकेकाले उनीहरुलाई यस पेशामा आवद्ध गराउनुपर्नेमा रोजगार संयोजक यादवले जोड दिए ।

स्थानीय महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सीपमूलक तालिमहरु सञ्चालन गर्नु सकारात्मक रहेकोले उनले बताए । सीपको माध्यमबाट आयआर्जन गर्न सकिने भन्दै महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनुपर्नेमा उनले जोड दिए । पाँच दिने तालिम भदौ ८ गते सम्पन्न हुने छ ।