अनसनकारी र प्रदेश सरकार बीच सहमति, अनसन स्थगित – Jaleshwortoday

अनसनकारी र प्रदेश सरकार बीच सहमति, अनसन स्थगित

 ७ भाद्र २०८१, शुक्रबार २२:१५  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ भाद्र

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कमलामा नयाँ पुल निर्माण गर्न सहमत भएपछि युवाहरुले आमरण अनसन तोडेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सिरहाका आठ जना युवाहरुले गएको मंगलबारदेखि आमरण अनशन थालेका थिए ।

अनसनकारी पक्ष र प्रदेश सरकारबीच पटक पटक भएको वार्ताले शुक्रबार मुर्हुत रुप पाएको हो ।

वार्तामा पुल निर्माणसहित चार बुंदे सहमति भएपछि आमरण अनसन तोडेको हो ।

मधेश प्रदेश सरकार र नयाँ कमला पुल निर्माण संघर्ष समितिबीच चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।

आमरण अनसनमा समेत बसेका वडाध्यक्ष इन्द्रजीतले वार्तामा प्रदेश सरकारले नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गर्न सहमत भएको जानकारी दिए ।

सहमतिमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने उल्लेख छ । यदि संघ सरकारबाट बजेट उपलब्ध नभएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै स्रोतबाट व्यवस्थापन गरिने उल्लेख छ ।

पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने पनि सहमतिमा उल्लेख छ । यस सहमतिपछि संघर्ष समितिले आफ्ना सबै कार्यक्रमहरू शुक्रबार दिउँसैबाट स्थगित गरेको छ ।

सहमति पत्रमा मुख्यमन्त्री सतिश कुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् ।

गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जनाले मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन सुरु गरेका थिए ।

मधेश प्रदेश सरकारको तर्पmबाट मुख्यमन्त्री सतिश कुमार सिंह अनसन स्थल पुगेर उनीहरुसित सहमति गरेसँगै गएको चार दिनदेखि बसेको आमरण अनसन स्थगित भएको हो ।

पुल निर्माण कार्यमा संघीय सरकारले चासो नलिएपछि सिरहाका बासिन्दाहरु प्रदेश सरकारले बनाउनु पर्ने माग गर्दै गएको साउन २५ गते मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । सात दिनभित्र माग सम्बोधन आठ जना युवाहरु आमरण अनसन बसेका थिए ।

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमलामा पुल नहुँदा दुवै जिल्लाका बासिन्दालाई आउजासमा समस्या हुँदै आएको छ ।

१३ वर्ष अघिदेखि थालिएको निर्माण कार्य पूरा नहुँदै दुई वर्ष अघि पुल दुई ठाउँमा भासिएको थियो ।