जनभावना विपरित कुनै लाइन तार तानिदैंन : विद्युत प्राधिकरण – Jaleshwortoday

जनभावना विपरित कुनै लाइन तार तानिदैंन : विद्युत प्राधिकरण

 १४ भाद्र २०८१, शुक्रबार २३:२१  
5

जलेश्वरटुडे समाचारदाता
गौशाला, १४ भाद्र

नेपाल विद्युत प्राधिकरणले जनभावना विपरित कुनै लाइन तार नतान्ने प्रतिवद्धता जनाएको छ । महोत्तरीको गौशाला नगरपालिका-१ इँटाटारमा स्थापित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्राइभेट लिमिटेडका लागि विस्तार गर्न लागेको ३३ केभीको प्रसारण लाइन तान्न स्थानीयले अवरोध खडा गरेपछि प्राधिकरणले सो प्रतिबद्धता जनाएको हो ।

शुक्रवार यसैविषयमा रामनगरमा आयोजित छलफलमा समेत स्थानीयले आक्रोश पोखेपछि उनीहरुलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रमुख मुनिन्द्र ठाकुरले जनभावना विपरित कुनै लाइन तार नतान्ने विश्वास दिलाए ।

उद्योगका लागि बस्तीबीचबाट विस्तार गर्न लागेको ३३ केभीको लाइनमा बस्तीभन्दा पर वा अन्डरग्राण्ड गरेर लैजान अन्यथा बस्तीबाट अन्यत्र सारेर लग्न स्थानीयहरु अडान कसेका छन् । ३३ हजार केभीको विद्युत प्रसारण लाइनले वातावरणीय प्रभाव, शारीरिक जोखिम, वृक्षहरूको कटान तथा जीवजन्तु तथा वन्यजन्तुहरूमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले गाउँ बस्तीभन्दा परबाट विद्युत लैजान उनीहरुले आग्रह गर्दै आइरहेका छन् ।