पिपरा गाउँपालिकामा तालाबन्दी – Jaleshwortoday

पिपरा गाउँपालिकामा तालाबन्दी

 १७ भाद्र २०८१, सोमबार २३:३५  
5

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १७ भाद्र

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलिय समितिले तालाबन्दी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले छलफलका लागि समय तोकेर पनि उपस्थित नहुँदा समयको अवहेलना गरेको भन्दै तालाबन्दी गरिएको जनमत पार्टी पिपरा गाउँपालिकाका अध्यक्ष रूपेश मण्डलले बताए ।

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डलले जानकारी दिएका छन।

पिपरा गाँउपालिकामा शिक्षा,स्वास्थ्य,कृषि,पशु स्वास्थ्य लगायतका क्षेत्रहरुमा भईरहेको कामलाई सर्वदलिय समितिले अनुगमन गरेको थियो । उक्त अनुगमन बाट आएको गुनासो र कमीकमजोरीका विषयमा महिनौ देखि प्रमुख प्रशासकीय अधिकृत सँग छलफलका लागि समय तोकिए पनि प्रमुख सन्तोष कुमार मिश्रले पटक-पटक समयको अवहेलना गरेकाले तालाबन्दी गर्न बाध्य भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पिपरा गाउँपालिका अध्यक्ष बिनित पाण्डेय ले जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृतको रवैया बारे महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदा उनले पिपरा गाउँपालिका अध्यक्ष सँग बुझ्ने बताए ।

सर्वदलिय समितिले पालिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा अध्यक्ष रामजानकी यादवले फोन नउठाएकोले बाध्य भएर तालाबन्दी गर्ने निष्कर्षमा सर्वदलिय समिति पुगेको र छलफल नभए सम्म ताल्चा नखोल्ने बिनित पाण्डेयले जानकारी दिए ।

यस विषयमा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले पालिकाको विकासको गति हेरेर सर्वदलिय समिति हतोत्साहित भएको बातएका छन् । उनले कुनै विकास कार्यप्रति गुनासो वा असन्तुष्टि भएमा आवश्यक प्रक्रिया पुरा गरी गुनासो सुनिदिने निकायमा पुग्नु पर्ने आवश्यक रहेको सुझाएका छन् । यस विषयमा पहिला पनि छलफल भएकै हो र पुनः छलफल गर्न आफु सकारात्मक रहेको पालिका अध्यक्ष रामजानकी यादवले बातए ।