गुठी शिक्षा ऐन लागु गर – Jaleshwortoday

गुठी शिक्षा ऐन लागु गर

 २७ भाद्र २०८१, बिहीबार २३:२९  
Jaleshwor Today Editorial

शिक्षाप्रति विद्यार्थीहरुको ध्यान केन्द्रित नभएको कारण अहिले एसइईको परीक्षाफल संतोषजनक देखिदैन । शिक्षामा सुधारको लागि अझै नयाँ तथा आधुनिक विद्यालयहरुको संचालन आवश्यक रहेको शिक्षा विज्ञहरुले बताउछन् । राष्ट्रको सर्वाङ्गीण विकासको लागि चाहिने दक्ष जनशक्ति तयार पार्न नेपाल सरकारको कार्यमा सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने सेवाको भावनाबाट प्रेरित भई शिक्षा ऐन,शिक्षा नियमावली तथा प्रचलित कानून अनुसार संस्थागत विद्यालयलाई दिगो रुपमा संचालन तथा व्यवस्थापन गर्न शिक्षा ऐन २०२८ को दफा ३,जनकपुरधाम उपमहानगरपालिका शिक्षा ऐन २०७७,दोस्रो संशोधन मिति २०७९।०३।१० को बँुदा नं.— ५ को उपबँुदा १,२ र ३ को बमोजिम,शिक्षा नियमावली २०५९ को नियम ११ को व्यवस्था बमोजिम सार्वजनिक वा निजी शैक्षिक गुठीको विधान बमोजिम र नयाँ विद्यालय संचालन गर्ने तथा अनुमति दिने नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी हकको (५) मा उल्लेख भए तापनि हालसम्म जनकपुरधाम उपमहानगरपाालिका धनुषा अन्तर्गत जनकपुरधाममा संंचालित विभिन्न संंस्थागत विद्यालयहरुले विगत ६—७ वर्षदेखि नियमित रुपमा नयाँ अनुमतिका लागि शिक्षा शाखामा पटक—पटक निवेदन दर्ता गराए पनि अहिलेसम्म ती विद्यालयहरुले नयाँ दर्ता प्रमाणपत्र तथा ईजाजत पत्र पाएका छैनन् । सार्वजनिक तथा नीजि गुठी अन्तर्गत नयाँ विद्यालय संचालन गर्ने गराउने शिक्षा ऐन भए तापनि यस तथ्यलाई लुकाई सोलाई कार्यान्वयनमा नल्याई उल्टो २०८० साल बैशाख २६ गते देखि अनुगमन गरेर जनकपुरधामका करिव १३ वटा नीजि विद्यालयहरुलाई जनकपुरधाम शिक्षा महाशाखाको अगुवाईमा बन्द गर्ने चिठी थमाइयो जुन क्षम्य थिएन । नेपालको संविधान २०७२ ले विद्यालय खोल्न पाउने प्रत्येक नेपालीको अधिकार रहेको अक्षरशः उल्लेख गरेको छ । त्यसकारण गुठी शिक्षा ऐनलाई फुकुवा गरी नेपाल सरकारको निर्देशन पूर्ण रुपमा पालना गर्न गराउन पुरानो दर्ता भएका विद्यालयहरुलाई अबिलम्ब नयाँ विद्यालय संचालन गर्न अबिलम्ब ईजाजत पत्र दिन आवश्यक रहेको देखिन्छ ।