जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ असोज
पूर्वी धनुषाको कमला नगरपालिकामा बालविवाह मुक्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कमला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तृप्ति भुडेरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रुपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको बताए ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत धनुषाको कमलासहित पाँच पालिकालाई बालविवाह मुक्त घोषणा गराउन वडास्तरबाटै अभियान संचालन गरिएको हो ।
सो अभियानलाई अगाडि बढाउँदै कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र शहीदनगर नगरपालिकाका सरोकारबालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
वडास्तरीय बाल अधिकार समिति, नागरिक समाजका अगुवा, कमला सामुदायिक अध्ययन रिसर्च केन्द्र, महादेव आन्तमनिर्भर समूह लगायतका प्रतिनिधिहरुको उपस्थितिमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बालविवाह विरुद्ध साझा अभियान संचालनमा जोड दिइएको थियो ।
कार्यक्रममा कमला सामुदायिक अध्ययन रिसर्च केन्द्र्रका अध्यक्ष मणिक मण्डलले समाजमा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको बताउँदै बालविवाह गर्नु गराउनु, बाल अधिकार,महिला अधिकार,मानव अधिकार र कानुनी शासनको समेत प्रतिकूल भएको र बालविवाहबाट बालबालिका पढ्न पाउने, स्वैच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वञ्चित हुने भएकाले यसको अन्त्य गर्नु पर्नेमा जोड दिए । साथै उनले बालविवाह अन्त्य गर्ने कानुनी व्यवस्था भएपनि स्थानीय तहमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै गएको बताए ।
मधेशमा धार्मिक अन्धविश्वास र परम्परा, बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि बालविवाह जस्ता गैर कानुनी कार्यले प्रश्रय पाइरहेको उनीहरुको तर्क थियो ।
गाउँ टोलस्तरका नागरिकले बालविवाहबाट वैवाहिक जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्न सक्ने गम्भीर खतरा,बाल अधिकार,कानुनी बन्देजहरूको बारेमा राम्ररी जानकारी नपाएका कारण बालविवाहले निरन्तरता पाईरहेको कमला वडा नम्बर ८ का वडाध्यक्ष भुडेरले बताए ।
बालविवाह विरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै वडाहरुलाई बालविवाह मुक्त घोषणा गर्नका लागि कार्यक्रमहरु अघि बढाएको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् ।
कार्यक्रममा आसमान नेपालका राजेन्द्र सदा, अमिरी यादव र महेश यादवले सहजीकरण गरेका थिए ।
नेपालको बालविवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैर कानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ । यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवानाको व्यवस्था छ ।
