जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा – Jaleshwortoday

जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा

 १८ आश्विन २०८१, शुक्रबार ००:१६  
1

गणेश कुमार सिंह

महोत्तरी, १७ असोज

महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ ।

पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामप्रित गिरीले बताए । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।

पानीले राजदेवीको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए । पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए ।

उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।