जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २२ असोज
बिहीबार हुने बली प्रदान कार्यक्रमका लागि बोकाको रसिद काट्ने कार्य सुरु भएको छ ।
गएको शनिबारदेखि नै बली प्रदान गरिने बोकाको रसिद काट्न सुरु भएको आयोजकले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष बली प्रदान गरिने बोकाको टाउकाको मोल बढाएको छ ।
विगतको तुलनामा सय रुपैयाँ थप गरेर रसिद काटिएको छ ।
गत वर्ष बोकाको टाउकाको मोल दुई सय रुपैया कायम गरिएको थियो । यस वर्ष भने सर्वपक्षीय बैठकले समयसापेक्ष सय रुपैयाँ वृद्धि गरेर ३ सय गरेको छ ।
तीन सय रुपैयाँ पर्ने रसिद कटाउन सर्वसाधारणको भीड लागेको छ । राममन्दिरको पूर्व गेटमै गुठी कार्यालयको झ्यालमा बोका बलीको लागि रसिद काट्ने कार्य भइरहेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए ।
गुप्ताका अनुसार बिहीबार बिहानसम्म रसिद कटाउनेको चाप बढ्ने छ । अहिले भीड केही कम देखिएपनि बुधबारदेखि रसिद लिनेको भीड बढ्ने उनले विश्वास व्यक्त गरे ।
राजदेवी मन्दिरको सरसजावट लगायतको सम्पूर्ण पूजाको आयोजक महावीर युवा कमिटीले टाउकाको मोल बढाएपछि सामाजिक संजालमार्पmत केही व्यक्तिले विरोध गरेका थिए ।
१० वर्षदेखि एउटै दर रहेकाले यस वर्ष सर्वपक्षीय बैठकबाट सय रुपैयाँ थप्ने निर्णय भएको अध्यक्ष गुप्ताले बताए ।
यस वर्ष राजदेवी मन्दिरमा बली प्रदान कार्यक्रम बिहीबार साँझदेखि हुने अध्यक्ष गुप्ताले बताए ।
महाअष्टमी तिथिको साँझमा जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा बोकाको बली दिने गरिएको छ । तर, यस वर्ष तिथि हेरफेरका कारण शुक्रबारको कार्यक्रम बिहीबार नै गर्नुपरेको हो ।
मिथिला पञ्चाङ अनुसार शुक्रबार बिहानदेखि महानवमी तिथि हुने भएकाले बिहीबार नै बली प्रदान कार्यक्रम राखिएको हो ।
ग्रामीण भेगका शक्तिपीठहरुमा पनि बिहीबार नै बली प्रदान, खोइच भर्ने कार्यक्रम गरिने भएको छ ।