स्थानीय सेवा ऐनमा रहेको त्रुटि संसोधनका लागि नेपाल नगरपालिका संघले बनायो कार्यदल – Jaleshwortoday

स्थानीय सेवा ऐनमा रहेको त्रुटि संसोधनका लागि नेपाल नगरपालिका संघले बनायो कार्यदल

 १३ कार्तिक २०८१, मंगलवार ००:१२  
IMG-20241028-WA0022

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ कार्तिक

नेपाल नगरपालिका संघले मधेश प्रदेशको स्थानीय सेवा ऐनमा त्रुटि रहेको बताऊदै ऐन संसोधनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । जिल्ला समन्वय समिति धनुषाको सभाहलमा नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक तथा हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार यादवको अध्यक्षतामा बसेको प्रदेश समितिको बैठक बाट मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयलाई कार्यदलको संयोजकको जिम्मेवारी दिइएको छ । मधेश प्रदेश सरकारको स्थानीय सेवा ऐनले स्थानीय सरकारको अधिकार कुण्ठित गर्ने खोजेको प्रदेश समिति बैठकमा उपस्थित प्रतिनिधिहरुको निष्कर्ष रहेको छ । स्थानीयतहका कर्मचारीको सरुवा स्थानीय सरकारको सहमति बिनै प्रदेश सरकारले गर्ने व्यवस्था प्रति नेपाल नगरपालिका संघले असहमति जनाएको छ । स्थानीय सरकारले करार तथा ज्यालादारीका कर्मचारी राख्न नसक्ने,दण्ड र सजायको अधिकार स्थानीय सरकारलाई नभएर प्रदेश सरकारको हुने र स्थानीयतहका कर्मचारीको सरुवा स्थानीय सरकारको सहमति बिनै प्रदेश सरकारले गर्ने लगायतका विषयमा त्रुटि रहेको नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक प्रदिप कुमार यादवले बताएका छन । उनले नेपालमा तिनतहको सरकार छ सबै सरकारको जिम्मेवारी नेपालको संविधानमा स्पष्ट उल्लेख छ ।यति हुँदाहुँदै स्थानीय सरकारको जिम्मेवारी र अधिकार प्रदेश सरकारले कुण्ठित गरिनु संविधान विपरित रहेको बताए । स्थानीय सेवा ऐनमा देखिएको त्रुटिहरुलाई अझ स्पष्ट रूपले यकिन गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको प्रदेश समिति संयोजक यादवले बताए । मधेश प्रदेश स्थानीय सेवा ऐन संसोधनका लागि मनराशिस्वा नगरपालिका नगरप्रमुख मोहन पाण्डेयको संयोजकत्वमा बनेको कार्यदलमा सदस्य संगिता कुमारी चौधरी नगर उपप्रमुख धनगढीमाई नगरपालिका,सदस्य कमला सहगल उपाअध्यक्ष जनकनन्दिनी गाउँपालिका, सदस्य सचिव अकबर अंसारी सहित ६ सदस्य रहेका छन । मधेश प्रदेश अन्तर्गतका गाउँपालिका तथा नगरपालिकाको अधिकार सुरक्षित राख्नका निम्ति उत्कृष्ट सुझाव दिन यस कार्यदलको मुख्य एजेण्डा हुने कार्यदलका संयोजक तथा मनराशिस्वा नगरपालिका नगरप्रमुख मोहन पाण्डेयले बताएका छन । स्थानीय सरकारलाई नेपालको संविधानले दिएको अधिकारको संरक्षणका निम्ति यस कार्यदलले विज्ञ तथा कानुन विद सँग नेपालको संविधानमा स्थानीय सरकारलाई दिईएको अधिकारहरु यकिन गर्न र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरु बाट आएको सुझावहरुको अध्ययन गरि एउटा प्रतिवेदन तयार गर्ने प्रारंभिक काम हुने बताएका छन । कार्यदलले बनाएको प्रतिवेदन गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त रुपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुझाउने छ। कार्यदलको प्रतिवेदन लाई प्रदेश सरकारले बेवास्ता गरेमा गाउँपालिका महासंघ तथा नगरपालिका संघले कडा विरोध प्रदर्शन समेत गर्ने कार्यदलका संयोजक मोहन पाण्डेयले जानकारी दिएका छन । यस सँगै नेपाल नगरपालिका संघले प्रादेशिक नगर अध्ययन केन्द्र संचालन कार्यविधि २०७९ अनु्सार मधेश प्रदेश अन्तर्गतका सप्तरी,सिरहा,धनुषा र महोत्तरी जिल्लाका नगरपालिकाहरुका लागि जनकपुरधाम उप महानगरपालिकामा थप नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापनाका लागि नेपाल नगरपालिका संघको तर्फबाट मधेश प्रदेश समिति संयोजक प्रदिप कुमार यादव ,जनकपुरधाम उप महानगरपालिका नगर प्रमुख मनोज शाह र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाको उपस्थितिमा जनकपुरधाम उप महानगरपालिकाको सभाहलमा कार्यालय संचालनका लागि सामान हस्तान्तरण गरेको थियो ।