जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ कार्तिक
कर्तव्य एवम् निष्ठाको महापर्व छठ पूजाको पूर्व सन्ध्यामा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टा गाउँमा सोमबार कर्मचारीहरुको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरिएको छ ।
मावि खुट्टामा आयोजित एक कार्यक्रमका बीच अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
खुट्टा गाउँका बहालबाला कर्मचारीहरुले आयोजना गरेको सो कार्यक्रममा अवकाश प्राप्त २७ जना कर्मचारीहरुलाई सम्मान गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत बिनोद यादवले जानकारी दिए ।
खुट्टा गाउँका अवकाश प्राप्त कर्मचारीहरुको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने अधिकृत यादवले बताए ।
शुभकामना मन्तव्य राख्दै यादवले यस प्रकारको कार्यक्रमले भावि पुस्ताहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
समाजमा विकृति बढ्दै गएको बेला अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मान गरेर उहाँहरुको समेत हौसला बढाउने कार्य गरिएको यादवले थपे ।
जलेश्वर अस्पतालका मेडिकल रेकर्डर अधिकृत बृजेशकुमार यादवले छठ पर्वको शुभकामना दिदै समाजमा एकअर्काको सम्मान गर्नुपर्ने धारणा राखे ।
सामाजिक सद्भाव, नैतिकताको कमी देखिएकाले यस प्रकारको कार्यक्रमले केही हदसम्म भावि पुस्तालाई मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा अवकाश प्राप्त कर्मचारीहरु दिगम्बर झा, रामस्वार्थ चौधरी, नविन साह, रामशरण यादव तथा बहालबाला कर्मचारीहरुमा वीरेन्द्र साह, नरेश साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।