ट्रम्पको जितमा हलिउड स्तब्ध, कार्डी बी भन्छिन् : म तिमीलाई नराम्रोसँग घृणा गर्छु – Jaleshwortoday

ट्रम्पको जितमा हलिउड स्तब्ध, कार्डी बी भन्छिन् : म तिमीलाई नराम्रोसँग घृणा गर्छु

 २३ कार्तिक २०८१, शुक्रबार २०:४३  
4

जलेश्वरटुडे समाचारदाता
काठमाडौं ,२३ कात्तिक

डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव जितेपछि हलिउड स्तब्ध बनेको छ । ए–लिस्टर हलिउड स्टारले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरिरहेका थिए । चुनावी नतिजा उल्टिएपछि अमेरिकी फिल्म र संगीतका सेलेब्रिटीले आक्रोश र निराशापूर्ण प्रतिक्रिया दिइरहेका छन् ।

इन्स्टाग्राम स्टोरीमार्फत हिपहप स्टार कार्डी बीले ट्रम्पको जितमा प्रतिक्रिया दिंदै लेखेकी छन्, ‘म तिमीलाई नराम्रोसँग घृणा गर्छु ।’ त्यसपछिको अर्को पोस्टमा उनले आफूलाई हैरान नपार्न ट्रम्प समर्थकलाई आग्रह गरेकी छन् । चुनावको केही दिनअघि आयोजित ह्यारिसको र्‍यालीमा कार्डी सहभागी थिइन् ।

ह्यारिसलाई ‘इन्डोर्स’ गरेकी पपस्टार बिली एलिसले पनि ट्रम्पको जितमा प्रतिक्रिया जनाएकी छन् । ‘यो महिलाविरुद्धको युद्ध हो’ कालो पृष्ठभूमिको सेतो अक्षरमा उनले लेखेकी छन् ।

एलिसले न्यासभिल, टेनेसीमा कन्सर्टको क्रममा पनि यसबारे प्रतिक्रिया दिइन् । ‘योर पावर’ गीत गाउनुअघि उनले भनिन्, ‘महिलाहरूलाई यति गहिरो घृणा गर्ने कोही राष्ट्रपति हुन लागेको छ । यो गीत सबै महिलाका लागि हो । म तिमीलाई माया गर्छु, म तिमीलाई समर्थन गर्छु ।’

पपस्टार एरियाना ग्रान्डे, जो हाल विक्ड नामक एल्बमको प्रचारमा व्यस्त छिन्, उनले ह्यारिसलाई खुलेरै इन्डोर्स गरेकी थिइन् । उनले चुनावी नतिजाबारे धारणा राखेकी छन् । ‘आज यो नतिजाको असीम भारीपन महसुस गर्ने हरेक व्यक्तिको हात समात्दै’ उनले कालो पृष्ठभूमिमा सेतो अक्षरमा पोस्ट गरेकी छन् ।

पपस्टार सविना कार्पेन्टरले पनि कन्सर्टको क्रममा चुनावी नतिजाबारे क्षोभपूर्ण प्रतिक्रिया दिएकी छन् । ‘मलाई हाम्रो देश र यहाँका सबै महिलाप्रति धेरै दुःख लाग्छ, म तिमीलाई धेरै माया गर्छु । म साँच्चै आशा गर्छु कि बाँकी रात तपाईं आफैंले रमाइलो गर्न सक्नुहुन्छ किनभने तपाईं यसको योग्य हुनुहुन्छ’ भीडलाई सम्बोधन गर्दै उनले भनिन् ।

सुपरमोडल हेली बिबर, ज्याक एन्टोनोफ, फिनीस, जिम्मी किमेल, स्टिफन कोलबर्ट, सेठ मेयर्स, लिली रेनहार्ट, मुनरो बर्गडोर्फले पनि ट्रम्पको जितमा हैरानी व्यक्त गरेका छन् ।

‘जनरल हस्पिटल’ स्टार न्यान्सी ली गाहनले आफ्नो छोरीको सुरक्षाका लागि सामाजिक सञ्जालको खाता डिलिट गर्ने बताएकी छन् । ‘मलाई धेरै खेद छ । भगवान हाम्रो रक्षा गर्नुस्’ उनी लेख्छिन् ।

डेमोक्र्याटलाई ट्रम्पले ‘हलिउड क्लब’ बताउने गर्थे । ह्यारिसको पक्षमा वियोन्से, टेलर स्विफ्ट, लेडी गागा, लियोनार्दो डिक्याप्रियो लगायतका सेलिब्रेटीले समर्थन जनाएका थिए । तर निकै कम मात्र कम चर्चित सेलिब्रेटी ट्रम्पको पक्षमा देखिए ।